बेनी नगरपालिका ३, भकिम्लीकी १४ वर्षीया शुष्मा नेपालीको नाममा विद्यालय,नगर, प्रदेशस्तरमा एथलेटिक्स खेलका विभिन्न विधामा ३ दर्जनभन्दा बढी पदक जितेको रेकर्ड छ । उनीसँग असीमित सम्भावना भएको प्रकाश माविका सहायक प्राचाई विनय श्रेष्ठको ठम्याइ छ । खेलाडीलाई प्रशिक्षण,पोषण र प्रोत्साहन चाहिन्छ । तर, शुष्मा प्रशिक्षण र पोषणबाट बञ्चित छन् । कतिसम्म भने कयौंपटक उनी भोको पेट मैदानमा उत्रिएकी छन् ।
विपन्न परिवारमा जन्मनु नै भोको बस्नुपर्नाको कारण हो । पिताबाट अपहेलित आमा र आमाकै कमाइमा निर्भर शुष्माले अभावका बीच पनि देखाएको खेल कौशल भने लोभलाग्दो छ । विद्यालयले अहिले उनलाई पढ्ने व्यवस्था त गरिदिएको छ तर फोहोर संकलनको काम गर्ने आमाकै कमाइबाट खेलकुदको लागि आवश्यक पर्ने पोषिलो खाना सम्भव छैन । यस्तो नियतिबाट शुष्मालाई मुक्त गराउनु खेलप्रेमी र राज्यको कर्तव्य हो । शुष्मा प्रतिनिधि पात्र हुन् । अभावको बीचमा बाँचेका तर खेलकुददेखि अन्य क्षेत्रमा सम्भावना नै सम्भावना बोकेका नानीबाबुहरु अहिले पनि राज्यको सहयोगबाट वञ्चित छन् ।
राज्यसँग खेलकुद मन्त्रालय त छ तर त्यो मन्त्रालयले प्रतिभा चिन्दैन । छनोट प्रक्रिया पनि गरिँदैन बरु विनियोजित बजेट दुरुपयो हुन्छ । सवैजसो राष्ट्रले खेलकुदमा यथेष्ठ लगानी गरेका हुन्छन् । सानै उमेरदेखि उनीहरुको प्रतिभा परख गर्दै उचित वातवरण अनि प्रशिक्षण दिएर उनीहरुलाई कुशल बनाउँछन् । ती खेलाडीले अन्ततः राष्ट्रको नाम उँचो बनाउँछन् । विदेशको यो असल परम्परालाई अहिलेसम्म नेपालले अनुशरण गर्न सकेको छैन । जसले गर्दा सम्भावना भएका धेरै नानीबाबुहरु मन खुम्च्याएर बस्न विवश छन् । राज्य साँच्चिकै संवेदनशील हुने हो र खेलकुदलाई महत्व दिने हो भने दूरदराजमा लुकेका प्रतिभाहरुको खोजीमा लाग्नुपर्छ ।
उनीहरुलाई आवासीय सुविधासहित प्रशिक्षण र भविष्यको सुनिश्चितता गराउनुपर्छ । बल्ल उनीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिन्छ । तर, दुर्भाग्य राज्य यति गैरजिम्मेवार छ कि, बजेट विनियोजनमा खेल क्षेत्र सदैव प्राथमिकताको बाहिर रहँदै आएको छ । भएको बजेट पनि प्रतिभाहरु तिखार्न प्रयोगमा आएको छैन । अर्कोतर्फ, आफ्नै बलबुताले तयार भएका खेलाडीहरुलाई पनि राज्यले संरक्षण गर्न नसकेको घामजत्तिकै छर्लङ्ग छ ।सुरक्षित भविष्यको लागि विभागीय टोली ताक्नुपर्ने र हैन भने बाध्यताले खाडी रोज्नुपर्ने बाध्यतामा खेलाडीहरु रहेका छन् । यो दुखद अवस्थाको अन्त्य नगरेसम्म खेल क्षेत्रको विकास सम्भव छैन ।
