पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो।
भाषण गरिरहेका लामिछानेलाई लमजुङका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । रानाभाट कार चालक हुन् । खोया प्रहार गर्ने रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ। अनुसन्धानका क्रममा रानाभाटले आफूले रविलाई ताकेर प्रहार नगरेको प्रारम्भिक बयान दिएको प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए।
लामिछानेलाई कसले प्रहार गरेको हो भन्नेबारेमा केहिपनि खुलेको छैन। आफूमाथि प्रहार गरेकोबारे स्वयम् लामिछाने आफैले पनि पुष्टि गरेका छन्।
उनले कार्यक्रममा बोल्ने क्रममा ढुंगा प्रहार गर्नेलाई राम्रो काम गरेर आफूप्रति सकारात्मक बनाउने बताए। ‘ढुंगाले स्वागत गर्नेलाई म काममार्फत जवाफ दिएर आफूप्रति सकारात्मक बनाउँछु’ उनले भने।





