पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले अभद्र व्यवहारमा मुद्धा चलाएको छ । शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई लमजुङका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।
तत्कालै रविले कार्यक्रमबाट नै उनलाई छाडिदिन आग्रह गरेका थिए । उनले भनेका थिए, “पूर्व गृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नु, मग मग बसाउने फूलको थुङ्गा दिएर घर पठाईदिनु ।”
उनले फूलको थुंगा त पाएनन, बरु कार्यक्रममा नै उनीमाथि प्रहरीकै अगाडि हातपात भयो । हातपात पछि सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले भने रानाभाटलाई अभद्र व्यवहार मुद्धामा थप अनुसन्धान गर्ने भन्दै १० दिन थुनामा राख्ने भएको छ ।
प्रहरीका अनुसार रवि लामिछानेलाई खोया हानेको विषयमा उनी पक्राउ परेका होइनन । प्रहरीलाई नै अपशब्द बोलेका कारण प्रहरी आफैले प्रतिवेदन बनाएर मुद्धा चलाएको हो ।
प्रहरीले प्रेस विज्ञप्तीमा उल्लेख गरे अनुसार ३४ वर्षका रानाभाटले लामिछाने मञ्चमा बोलिरहेको अवस्थामा मकैको खोया फालेर भाग्न खोजेका थिए । उनी भाग्न थालेपछि प्रहरीले पक्राउ गरि सोधपुछ ग¥यो । तर, सम्झाई बुझाई गर्ने क्रममा रानाभाटले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरेको, गालीगलौज र हातपातको समेत प्रयास गरेको उल्लेख गरिएको छ ।
जबकी सार्वजनिक भएका भिडियोहरुमा रानाभाटले नै प्रहरीका अगाडि कुटाई खाएको देखिन्छ ।
“….उल्टै डिउटीमा रहेको प्रहरीलाई अपशब्द प्रयोग गरी गालिगलौज एवं हातपात समेत गर्ने प्रयास गरी डिउटीमा अबरोध पु¥याई अभद्र व्यवहार गरेको भन्ने तत्काल खटिएको प्रहरीको प्रतिवेदनको आधारमा” पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
रानाभाटलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसूरमा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
“अपशब्द बोलेपछि प्रहरी प्रतिवेदनको आधारमा मुद्धा चलाइएको हो, खोया हानेको विषयमा होइन ।” उनले भने ।





