पोखरा/ गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको जाँचबुझ आयोगको निष्कर्ष छ ।
जाँचबुझ आयोगले ६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको विमान दुर्घटना मानवीय त्रुटिका कारण दुर्घटनामा परेको प्रतिवेशन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई बुझाएको छ । आयोगले ८ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।
जाँचबुझ आयोगमा पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजक थिए भने हवाईविज्ञ एवम् नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा सदस्य रहेका थिए ।
आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका थिए । यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो । जहाजमा चालक दलको नेतृत्व क्याप्टेन कमल केसीले गरेका थिए भने सहचालक अञ्जु खतिवडा मुख्य चालकको सीटमा थिइन् । उनीहरु दुवै यो संसारमा छैनन् ।





