बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सन् २०२४ मा फेरि त्यस्तो नहोस् !

सन् २०२४ मा फेरि त्यस्तो नहोस् !


  • Dhorpatan News
  • पुष १६ २०८०, सोमबार

१५ पुसबाट आदिवासी गुरुङ जातिहरुले नयाँ ल्हो अर्थात् वर्ष सुरु भएको छ । हि अर्थात् बिरालो वर्गको बिदाइ गरेर यो जातिले मुप्री अर्थात् गिद्ध वर्गको स्वागत गरिसकेको छ । यता, संसारभर प्रचलित इस्वी संवत् सन् २०२४ पनि आजबाटै सुरु भएको छ । जिसस क्राइष्टको मृत्युपछि यो संवत् सुरु गरिएको हो । पादरी ग्रेगोरीले प्रचलनमा ल्याएको यो संवत् संसारभर चल्छ । शक्तिशाली राष्ट्रहरुमा प्रयोग हुने यो पात्रोलाई मौलिक नेपाल संवत् र प्रचलनमा रहेको विक्रम संवत् भएको नेपालजस्तो देशले पनि पच्छ्याउनै पर्छ । आर्थिक, शैक्षिक र द्धिपक्षीय सहयोगमा आधारित परियोजनाहरु संचालनको क्रममा ठूला राष्ट्रको गतिसँगै हिँड्न साना राष्ट्रहरु बाध्यकारी भएकै छन् ।

एउटा वर्षको बिदाइ र अर्कोको स्वागत गर्दा स्वभाविक रुपले विगतको समीक्षा र आगतको आँकलन हुन्छ । अन्तर्राष्ट्रिय परिदृष्य हेर्दा इस्वी संवत् २०२३ लाई युद्धको वर्ष भने पनि हुन्छ । युक्रेन–रुस युद्ध र त्यसले निम्त्याएको वैश्विक संकट जारी रहँदै इजरालय र प्यालेष्टाइनबीच भएको युद्ध कारण सिंगो विश्व प्रभावित भयो÷भइरहेको छ । हमासको आक्रमणबाट इजराजयलमा पढाइसँगै काम गर्न गएका १० जना नेपालीले ज्यान गुमाए । एकजना अझै हमासको कब्जामै छन् । युद्धले हजारौ बालबालिकाको ज्यान लिएको छ । गाजा क्षेत्रका मानिसहरुको प्रताडनाको छुट्टै कथा छ । युद्ध जारी छ । यो युद्धको अन्त्य कसरी हुने हो भन्ने अझै अन्यौलपूर्ण छ । युद्ध एउटाले जित्ला तर युद्धले दिएका पीडाहरु अनन्तकालसम्म कायम रहने पनि निश्चित छ । युद्धले अर्थतन्त्र प्रभावित बन्यो । कोभिड १९ ले निम्त्याएको संकटबाट बिस्तारै उकासिँदै गरेको अर्थतन्त्रमा युद्धका बाछिटाहरु परेपछि सिंगो विश्व मूल्यवृद्धिको सामना गर्न विवश भयो ।

विक्रम संवत्लाई बिर्सेर यही संवत्मा नेपालमा घटित घटनाक्रम हेर्ने हो भने पनि अंग्रेजी वर्ष २०२३ ले खुसीभन्दा बेचैनी नै बढी दिएर गयो । आम निर्वाचनपछि आएको नयाँ सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गराउन केही गर्लाजस्तो देखिए पनि त्यो त्यत्तिकै सेलायो । युवाहरुको विदेश पलायन यो वर्ष झन बढ्यो । अराजकता र लोकरिझ्याइँवाद मौलाएर गयो । जनतामा निराशा चुलियो र त्यही निराशालाई भजाँएर स्वार्थको रोटी सेक्ने उपक्रम पनि बढेर गयो । अर्थतन्त्रका सवैजसो सूचकहरु नकारात्मक बने भने व्यापार÷व्यवसायमा मन्दी छायो । बेरोजगारी बढेर गयो । रोजगारीको लागि कोरिया जान पाऊँ भन्दै आन्दोलित दुई युवाहरु वर्षको अन्त्यतिर राज्यबाट अनाहकमा मारिए । राज्यले सेवाप्रवाहमार्फत् आफूलाई प्रमाणित गर्न सकेन । समग्रमा सन् २०२३ ले निराशा बढी र खुसी कम दिएर गयो ।

हामी सुरुमै गुरुङ जातिको नयाँवर्षको कुरा गर्दै थियौं । जे हुनु भइसकेको छ । गुरुङ भाषामा एउटा चर्चित गीतले ‘रिस–राग पैतालामुनि र मायालाई शीरमा राख्न’ सुझाउँछ । हो, कालो विगतलाई बिर्सेर सुखद नयाँवर्षको कामना गर्नु र प्राप्तिको लागि लाग्नु नै सर्वजन हिताय छ । हिजोको जस्तो नहोस्, आगत सुखमय रहोस् । इस्वी संवत् २०२४ शुभकामना !

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->