बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वायू प्रदूषणलाई नजरअन्दाज नगरौं

वायू प्रदूषणलाई नजरअन्दाज नगरौं


  • Dhorpatan News
  • पुष २३ २०८०, सोमबार

चालु आर्थिक वर्षको सुरुमै पोखराका नगर प्रमुख धनराज आचार्य फोहोर विसर्जन कहाँ गर्ने भन्ने समस्याको चंगुलमा परे । पोखरा ३२ मा अस्थायी रुपले फोहोर विसर्जन हुँदै आएकोमा स्थानीयबाट अवरोध सिर्जना भयो । पोखरा १४ मा रहेको पुरानो ल्याण्डफिल साइट बन्द भइसकेको थियो । फोहोर नउठ्दा सहर दुर्गन्धित र कुरुप हुँदै थियो । मेयर आचार्यले मध्यमार्गी बाटो खोजे । विरोधमा उत्रिएका स्थानीयहरुसँग सहमति गरे । पोखरा महानगरले पोखरा ३३ मा फोहोर प्रशोधन केन्द्र बनाउने घोषणा गरेको छ । काम समयमा सम्पन्न नभए फोहोरको समस्या पुनः बल्झने निश्चित छ । महानगरले समयमै फोहोरको उचित व्यवस्थापनको लागि घोषणा अनुसारको काम थाल्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

पोखरा तुलनात्मक रुपले देशका अन्य सहरभन्दास सफा छ । व्यवस्थापन गरेर हैन कि भौगोलिक अवस्थितिका कारण पोखरा सफा देखिएको हो । सहरलाई चिरेर बग्ने सेतीलगायत यहाँका तालहरु दिनप्रतिदिन प्रदुूषित हुँदै गइरहेका छन् । सेती र फिर्केलगायतका खोलामा लुकीछिपी फोहोर फाल्ने प्रवृत्ति रोकिएको छैन । यतातर्फ महानगरले ध्यान दिनु जरुरी छ । अर्कोतर्फ, वायू प्रदूषणतर्फ पनि महानगरले बेलैमा ध्यान दिनुपर्ने देखिएको छ । हिउँदको बेला पनि कार्यालय समयमा पोखराका सडकहरु धुँवाले ढाकिन्छन् । महानगरमा गुड्ने गाडीहरुले फाल्ने धुँवाका कारण त्यस्तो भएकोमा कुनै द्धिविधा छैन । यहाँ चल्ने सार्वजनिक सवारीदेखि विद्यालयका बसहरुले कालो धुँवाको मुस्लो फाल्ने गरेको कसैबाट छिपेको छैन तर ती सवारी साधन निर्वाध चलिरहेका छन् । नदेखिएको यो प्रदूषणले मानव स्वास्थ्यमा कति हानी गरेको छ भन्नेतर्फ कमैमात्र चर्चा भएको छ ।

यो वर्षको हिउँदमा पानी परेको छैन । पानी नपर्दा आकाश प्रदूषित भएकै हुन्छ । त्यसै पनि जलवायू परिवर्तनले कुसमयमा पानी पर्ने, बाढी आउने तथा पानी पर्ने ऋतुमा पानी नै नपर्ने हुन थालेको छ । छिमेकी भारतको राजधानी दिल्लीले गएको असोज–कात्तिकमै प्रदूषणले निम्त्याएको विपत्ति भोगेकोतर्फ हामीले ध्यान दिन सकेका छैनौं । दूषित हावाले जनस्वास्थ्यमा सोझै असर पार्छ । पोखराको हावा दूषित हुँदै गएको भन्ने विज्ञहरुको भनाइलाई नजरअन्दाजज गर्ने हो भने हामी पनि कुनै दिन दिल्लीकै नियति भोग्न अभिषप्त हुनेछौं । अतः वायू प्रदुषण घटाउन तत्काल प्रदुषण मापनलाई प्रभावकारी बनाउँदै घटाउने उपाय अवलम्बन गर्नु एकातिर छ भने असन्तुलित विकासलाई सन्तुलित बनाउनैपर्ने आवश्यकता छ । यसो गर्न सकेमात्र कुनै एकठाउँ साह्रै प्रदुषित हुनबाट बचाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->