बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सन्दीपको कीर्तिमानी र राज्यको दायित्व

सन्दीपको कीर्तिमानी र राज्यको दायित्व


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८०, मंगलबार

प्रधानमन्त्री (पिएम) कप गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट खेलमा तनहुँका सन्दीप पराजुलीले एउटै खेलमा ९ विकेट चप्काउने दुर्लभ कीर्तिमान कायम गरे । नलपुरविरुद्धको खेलमा बायाँहाते बलर सन्दीपले कमाल गरे । उनले स्पीनमा जादू देखाउँदा तनहुँ विजयीमात्र भएन, कीर्तिमान पनि बन्यो ।

घरेलु होस् वा अन्तर्राष्ट्रिय ! एउटै खेलमा ९ विकेट लिनु सामान्य हैन । यस्तो कीर्तिमान बनाउन सजिलो छैन । हेर्दा र सुन्दा सामान्य लागे पनि मैदानमा उत्रिएका खेलाडीलाईको धैर्य, खेल कौशल, मिहिनेतले मात्र कीर्तिमानी सम्भव हुन्छ । सन्दीपले कुल ९.१ ओभरको बलिङमा २ मेडनसहित २५ रन खर्चेर यो कीर्तिमानलाई आफ्नो नाममा लेखाएका हुन् । उनी बधाईका पात्र छन् । उनलाई बधाई दिइरहँदा खेलाडी नयाँ खेलाडी उत्पादनमा भइरहेका प्रयत्नप्रति पनि आँखा लगाउनुपर्ने देखिएको छ ।

घरेले प्रतियोगिता भनेको नयाँ खेलाडी उत्पादन गर्ने नर्सरी हो । देशका विभिन्न भागमा रहेका खेलाडीहरु एकैचोटी राष्ट्रिय टिममा पुग्न सक्दैनन् । सम्भावनायुक्त खेलाडीहरु पहिचान गर्दै उनीहरुलाई निखार्ने,दक्ष बनाउने र अघिल्ला प्रतियोगिताहरुमा सहभागी गराउन लक्ष्य लिने हो भने तल्ला तहमै प्रतियोगिताहरु आयोजना हुनुपर्छ । विरुवाजस्तै खेलाडीलाई पनि सानैमा उचित प्रशिक्षण दिनुपर्छ । यसअघि जिल्लामा भएको क्लबस्तरीय प्रतियोगिता पार गर्दै जिज्लाको टिममा समावेश भएका सन्दीपजस्तै खेलाडीहरुको लागि हाल जारी प्रतियोगिता आफ्नो खुवी प्रदर्शन गर्ने थलो हो ।

यहाँ गरिएको उच्च प्रदर्शनले खेलाडीहरुलाई प्रदेश टिममा ठाउँ मिल्नेछ भने प्रदेशपछि राष्ट्रिय टिम जाने ढोका खुल्नेछ । यो त प्राविधिक कुरा भयो ! खासमा प्रतिभावान खेलाडीलाई एउटा प्रतियोगिताले मात्र निखार्न सक्दैन । उसको लागि आउँदा दिनमा थप प्रशिक्षण आवश्यक हुन्छ । प्रशिक्षणसँगै खेल सामग्री र अतिरिक्त सुविधा प्रदान गर्न सकेमात्र खेलाडीले आफूलाई खेलमा समर्पित गराउँछ । नेपालको सन्दर्भमा भन्ने हो भने, कतिपय खेलाडीहरु कसरी पढ्ने र खाने भन्ने समस्याकै भूमरीमा रहेका छन् ।

गरीब परिवारका ती नानीबाबुलाई आवश्यकता अनुसार छात्रबासको व्यवस्थासहितको प्रशिक्षण दिनुपर्ने हुन्छ । दूरदराजमा गएर खेलाडी छान्ने कामसमेत मु्स्किलले सम्पन्न हुने देशमा कसरी राज्यको ध्यान त्यहाँसम्म पुगोस् ! समस्या यहीँनेर छ । जसले गर्दा प्रतिभावान खेलाडीहरु गाउँघरमै टाक्सिन अभिषप्त छन् । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

सन्दीपजस्ता कीर्तिमान कायम गर्ने खेलाडीहरुलाई आवश्यक सुविधा अनि प्रोत्साहन र नयाँ प्रतिभा खोजीतर्फ तत्काल काम थाल्नुपर्छ । यसको लागि क्रिकेटसँग सम्बन्धित संघ-संस्थाहरुले राज्यलाई झक्झक्याउनु पर्छ । सन्दीपले सम्भावना देखाएका छन् । छनोट खेलमा गरेको प्रदर्शनलाई अझ तिखार्दै अगाडी बढे उनी राष्ट्रले गर्व गर्नलायक खेलाडी बन्नेछन् । सन्दीपलाई शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->