बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बमजनमाथि निष्पक्ष अनुसन्धान होस्

बमजनमाथि निष्पक्ष अनुसन्धान होस्


  • Dhorpatan News
  • पुष २६ २०८०, बिहिबार

आफूलाई तपस्वी भन्ने रामबहादुर बमजनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीबीआई) ले पक्राउ गरेको छ । विभिन्न आपराधिक कृत्यको आरोपले जेलिएका उनी लामो समयदेखि कानूनको हातबाट फुत्कँदै आएका थिए । उनीमाथि सरकारी जंगल अतिक्रमण गरी आश्रम निर्माण गरेको,अन्धभक्तहरुको अभेद्य किल्लाभित्र बलात्कार र आपराधिक घटनाहरु घटाएको अनि केही व्यक्तिलाई बेपत्ता बनाएका अभियोग लागेका छन् । बमजनको कथित आश्रमबाटसर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएको उजुरी परेको छ । यस्तै बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि बेपत्ताको सूचीमा छन् । आरोप छ– वाइबाको बजनकै आदेशमा निर्मम तरिकाले हत्या गरिएको थियो ।

बाराको रतनपुरका रामबहादुर बमजन एकाएक चर्चामा आए । १४ वर्षको उमेरमा बाराकै जंगलमा रहेको पिपलको बोटमुनि ‘ध्यान मुद्रा’मा बसेपछि एकाएक अनुयायी कमाए । १० महिना निराहार तपस्या गरेको चर्चाका कारण उनलाई ‘लिटिल बुद्ध’को उपमा पनि भिराइयो । मान्छेबाट बुद्ध बनेका बमजन साँच्चिकै निराहार तपस्या बसेको हुन कि हैनन् ? चर्चा बासी भइसकेको छ । बलात्कार, बेपत्ता र हत्याको उजुरी परिसकेपछि उनी प्रहरी प्रशासनको सूचीमा आपराधिक व्यक्तित्वमा दर्ज भइसकेका छन् । कानूनको पञ्जा उनीसम्म पुगिसकेको छ । उनीसँग अव आफू निर्दोष भएको प्रमाणित गराउने वा दोषी भए सजायको भागिदारीको लागि तयार हुने विकल्पमात्र बाँकी छ ।

पक्राउ परेपछि प्रहरीले सार्वजनिक गरेका केही तथ्यहरुले उनी कति ऐयासी थिए भन्ने प्रष्ट पारेको छ । महँगा गाडी र मोटरसाइकलदेखि मोवाइलसम्मको प्रयोग र अझ महँगो गाडी चढ्न तम्तयार रहेका उनले त्यो पैसा कहाँबाट जुृटाए भन्ने सहजै अनुमान लगाउन सकिन्छ । धर्म आस्थाको नाममा जे पनि गर्न तयार हुने नेपालीहरुको मनोभावनाको गलत उपयोगबाट नै उनी लिटिल बुद्ध र ऐयासी जीवन जिउनसक्ने बनेका हुन् । यस्ता प्रवृत्तिहरुलाई यो वा त्यो बहानामा उन्मुक्ति दिन मिल्दैन र हुँदैन । प्रहरी प्रशासन यो विषयमा चनाखो हुनुपर्छ । बमजन यसअघि पटक–पटक पक्राउ पर्नबाट जोगिएका छन् । राजनीतिक तथा विभिन्न शक्तिकेन्द्रको सद्भावका कारण त्यो सम्भव भएको कसैबाट छिपेको छैन । उनी पक्राउ पर्नासाथ उनका अन्धभक्त अनुयायी, उनका आसेपासे अनि भँजाएर फाइदा लिने एउटा वर्ग सल्बलाएको छ । त्यो समूहले किटानी जाहेरी परेका बमजनमाथिको कारवाही प्रक्रियालाई धर्म र आस्थासँग जोडेर मुद्दा कमजोर बनाउने तथा उन्मुक्ति दिलाउने प्रपञ्च रच्नसक्छ । शक्तिकेन्द्रलाई प्रभावमा पार्न सक्छ । त्यतिमात्र नभएर जातीय र धार्मिक रुपले समाज विभक्त बनाउने सम्भावित प्रयत्नहरुलाई निस्तेज बनाउनैपर्छ ।

धर्मगुरुको नाममा भारतदेखि नेपालसम्म आपराधिक कृत्य गर्नेहरुको कमी छैन । सर्वसाधारणको आस्थालाई भजाउँदै गरिने आपराधिक कृत्यहरुलाई धर्मको च्यादर ओडाउन मिल्दैन र त्यस्ता व्यक्तिलाई जोगाउने प्रपञ्च पनि रचिनु हुँदैन । धर्मको नाममा गलत धन्दा चलाउनेहरु अपराधी नै हुन् । अपराधीलाई उन्मुक्ति दिलाउन र त्यस्ता व्यक्तिको अन्धभक्त बन्नु पनि अपराधलाई प्रोत्साहित गर्नु हो भन्ने सवैले मनन गर्नुपर्छ ।सीआरबीले लामो प्रयत्नपछि एक आरोपित पक्राउमा सफलता पाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध आवश्यक प्रमाण जुटाउन र पीडितलाई न्याय दिलाउन सीआरबीबाट अधिकतम् प्रयास हुनैपर्छ । अर्कोतर्फ आफूमाथि लागेका आरोपलाई मिथ्या सावित गर्ने हकको सुनिश्तितता त बमजनले पाउँछन् नै । यसर्थ, अनुयायीहरुले पनि त्यो समय कुर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->