बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सडकमा चौपाय छाड्नेलाई कडा कारवाही जरुरी

सडकमा चौपाय छाड्नेलाई कडा कारवाही जरुरी


  • Dhorpatan News
  • माघ ७ २०८०, आइतबार

छाडा चौपायको व्यवस्थापन देशकै प्रमुख समस्याका रुपमा रहँदै आएको छ । दूध दिइञ्जेल पाल्ने र त्यसपछि सडकमा छाड्ने अनि जोत्ने प्रयोजनमा काम नआउने गोरु र बहरलाई सुरुदेखि नै सडकमा छाड्ने प्रवृत्तिका कारण यो समस्या आएको हो । सडकमा छाडिएका चौपायहरु दुर्घटनाका कारक बन्ने गरेका छन् । बुढा,दुर्घटनामा घाइते भएका गाई–गोरुहरुलाई भोकभोकै सडकमा भौंतारिन बाध्य पारिनु भनेको पशुमाथिको ज्यादति हो । आम्दानी भइञ्जेल पाल्ने र त्यसपछि सडकमा लगेर छाड्नेहरुलाई धार्मिक दृष्टिले पापी र पशु अधिकारको आँखाबाट हेर्दा अपराधी मान्न सकिन्छ । आफूले पालेका गाईहरुलाई बुढोभएपछि स्याहार–सुसार गर्नु सोही व्यक्तिको कर्तव्य हो । कर्तव्यबाट च्यूत हुनेहरुलाई कानूनी कारवाही गरिनुपर्छ । तर,सडकमा छाडिएका गाईबस्तु कसको हो भन्ने जानकारी नभएकाले ती व्यक्तिहरुले उन्मुक्ति पाउँदै आएका छन् । छाडा चौपाय स्थानीय पालिकाहरुको टाउको दुखाई बन्दै आइरहेका छन् । केही पालिकाहरुले छाडा चौपाय व्यवस्थापनको लागि कान्जी हाउसदेखि गौशालासम्म निर्माण पनि गरेका छन् । तर, दैनिक रुपले आवश्यक पर्ने आहारासहितको व्यवस्थापन गर्न ती पालिकाहरुलाई हम्मे पर्ने गरेको छ ।

पोखरा महानगरकै कुरा गर्ने हो भने, पालिकाले केही वर्षअघिदेखि छाडा चौपाय व्यवस्थापनमा लाखौं खर्चँदै आएको छ । तर, भनेजति घाँस–पराल खुवाउन नसक्दा गौशालामा गाईहरु भोकै रहेका समाचार सुन्नुपरेको छ भने सडकमा गाईहरु देखिन पनि छाडेका छैनन् । सडकलाई छाडा चौपायमुक्त बनाउन अहिले भने महानगरले राष्ट्रिय परोपकार महासंघ नेपालसँग सहकार्य गरेको छ । महासंघले पोखरा १४ मा पुष्करिणी परोपकार गोकुलधाम संचालनमा ल्याएको छ । करिब ३ सय गाई अटाउने सो गौशालामा अहिले पनि करिब १८० को हाराहारीमा गाईहरु रहेका छन् । त्यति धेरै गाईलाई खुवाउने र व्यवस्थापन गर्ने काम सजिलो छैन । एउटा गाईलाई पेटभर खुवाउने हो भने दैनिक ५ सय रुपैयाँ वरपर खर्च लाग्छ । खर्चको जोहो गर्नकै लागि महासंघले हालै महायज्ञको आयोजना गरेको छ र त्यहाँबाट करिब ५९ लाख बचत भएको जानकारी गराएको छ । छाडा चौपाय व्यवस्थापनको लागि परोपकार महासंघले देखाएको क्रियाशिलता सह्रानीय छ ।

गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको केन्द्रको रुपमा विकास गरिने योजना बनाइएको छ । महासंघको यो अभियानलाई जनस्तरबाट पनि सहयोग गरिनुपर्छ । नेपालमा गोबध बर्जित छ । त्यसैले बुढा गाई र गोरुहरु सडकमा छाड्ने गरिएको तथ्य कसैबाट लुकेको छैन । सडकलाई छाडा चौपायमुक्त बनाउने हो भने पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपाय सडकमा छाड्न बन्देज नै लगाइनुपर्छ । त्यस्तो कार्य गर्नेलाई कडा कारवाही गरिनुपर्छ । तबमात्र सडकलाई छाडा चौपायमुक्त बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->