भारतको अयोध्यामा निर्मित भव्य राममन्दिरको उद्घाटन गरिएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैदिक परम्परा अनुसार मन्दिरको गर्भगृहमा रहेको रामको मूर्तिको प्राणप्रतिष्ठा गरेसँगै मन्दिरको उद्घाटन भएको हो । पूर्ण रुपले सम्पन्न हुन अझै केही समय लाग्ने भए पनि प्रधानमन्त्री मोदीले मन्दिर उद्घाटनलाई लामो समयपछि सम्भव भएको ऐतिहासिक दिनको रुपमा अथ्र्याए ।
अध्योध्यामा रहेको राममन्दिरलाई १६ औं शताब्दीमा भत्काइएको र बदलामा बाबरी मस्जिद निर्माण गरिएको जिकिर गर्दै आइरहेका हिन्दुहरुले सन् १९९१ मा मस्जिद भत्काइदिएका थिए । त्यो अभियानको राष्ट्रिय स्वयंसेवक संघ ( आरएसएस) ले गरेको थियो । आरएसएस प्रधानमन्त्री मोदी संलग्न भारतीय जनता पार्टीले बोक्ने विचारको निर्माता हो । मस्जिद भत्काइएपछि हिंसात्मक घटनाहरु भए । मन्दिर स्थापनालाई मुल नारा बनाएर अगाडि बढेको भारतीय जनता पार्टी लोकप्रिय बन्दै गयो । विवादित विषय अदालतसम्म पुग्यो । अन्ततः सर्वोच्च अदालतले मन्दिर भत्काएर मस्जिद बनाइएको पुष्टि भएको भन्दै मन्दिर बनाउने अनुमति प्रदान ग¥यो भने मस्जिदको लागि अन्यत्र जग्गाको व्यवस्था गर्ने आदेश दियो । त्यही आदेशपछि त्यहाँ मन्दिरको शिलान्यास भएको हो । संयोगले शिलान्यास र उद्घाटन दुवै गर्ने शौभाग्य प्रधानमन्त्री मोदीले प्राप्त गरे । केही हिन्दु सन्तहरुले विधि पालना नभएको र विपक्षीहरुले राममन्दिरलाई लिएर भाजपाले राजनीति गरेको आरोप लगाए पनि संसारभरका हिन्दुहरुले मन्दिर निर्माणको स्वागत गरेका छन् । अयोध्या आउँदा दिनमा करोडौं हिन्दुहरुको गन्तव्यस्थल बन्ने निश्चित छ । हिन्दुहरुले करिब ५ सय वर्षअघि बलपूर्वक कब्जा गरिएको र ध्वस्त पारिएको मन्दिर निर्माणबाट गर्वको महसुस गरेका छन् । त्यसको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा पनि मूर्तिको प्राणप्रतिष्ठाको दिन धार्मिक समूहले समर्थनमा ¥याली निकाले । दीपावली गरे । केही पालिकाहरुले त सार्वजनिक बिदा नै दिए ।
यही वर्ष भारतमा संसदीय चुनाव हुँदैछ । प्रधानमन्त्री मोदीकै नेतृत्वमा भाजपा जनतामाझ जाँदैछ । र, स्वभाविक रुपले धर्मलाई राजनीतिसँग जोडेर यहाँसम्मको यात्रा तय गरेको भाजपा राममन्दिरलाई चुनावी हतियारको रुपमा प्रयोग गर्दैछ । यो भारतको आन्तरिक मामिलाकै विषय भयो । तर, धार्मिक र राजनीतिक रुपले पनि भारतसँग जोडिएको नेपालमा पनि राममन्दिरबारे चासो हुनु अस्वभाविक हैन । रामको ससुराली नेपालकै जनकपुर भएको विश्वास गरिन्छ । नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त रामको जन्म नै नेपालकै ठोरीमा भएको जिकिरसम्म गर्न भ्याएका थिए । उनकै अगुवाइमा ठोरीमा राममन्दिर बनाउने अभियानसमेत चलेको थियो । ओलीको त्यो घोषणालाई पनि राजनीतिमा धर्म मिसाउने धुत्र्याइँको रुपमा नै बुझिएको थियो । राजनीति र धर्म अलग विषय हुन् । धर्म निरपेक्ष देशले धार्मिक आस्थाकै आधारमा अमूक धर्म मान्नेमाथि भेदभाव गर्न पाउँदैन । तर, जहाँसम्म धर्म र पर्यटन जोडिन्छ, त्यसबाट भने लाभ लिन चुक्नु हुँदैन । अयोध्या रामको जन्मभूमि हो । नेपालसहित विश्वका विभिन्न भागबाट लाखौंको संख्यामा धार्मिक पर्यटकहरु अयोध्या पुग्छन् । त्यस्ता पर्यटकलाई रामको ससुराली,सीताको जन्मभूमि जनकपुर अनि अन्य हिन्दु मन्दिर र शक्तिपीठहरुसम्म ल्याउन सक्ने हो भने नेपालले ठूलो लाभ लिन सक्छ । भारतले अयोध्याको जसरी ब्राण्डिङ गरेको छ, पर्यटन प्रवद्र्धनको हकमा नेपालले सिक्नैपर्छ । तर, अतिवाद जुनसुकै समाजको लागि पनि घातक हुन्छ । धर्मको नाममा राजनीति गर्ने, समाज भँड्याउने अनि घृणाको राजनीति गर्ने प्रवृत्तिलाई भने नेपाली राजनीतिज्ञहरुले नजरअन्दाज गर्नु नै हितकर हुन्छ ।
