बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अवसर छोपौं : सूचना प्रविधिको विकास गरौं

अवसर छोपौं : सूचना प्रविधिको विकास गरौं


  • Dhorpatan News
  • माघ १० २०८०, बुधबार

सन् २०२३ लाई आर्टीफिसिलय इन्टलिजेन्स ( एआई) अर्थात कृतिम बौद्धिकता प्रयोगको वर्ष रह्यो । यो वर्ष एआईको क्षेत्रमा यति धेरै काम भए कि, यन्त्र मानवहरुले मानिसले भन्दा राम्रो काम गर्न सक्छन् भन्ने प्रमाणित भयो । एआई स्वास्थ्यदेखि व्यवसाय,खेलकुदलगायतका क्षेत्रमा प्रयोगमा आइसकेको छ । कतिसम्म भने एआईले मानिसले भन्दा राम्रो काम गर्ने र यसले मानिसकै जागिर खोस्ने जोखिम बढेको आँकलन गरिएको छ । हेर्दा त्यस्तै लाग्छ । विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्दै आएका संसारका ठूला कम्पनीहरु अहिले उन्नत एआई निर्माणमा जुटेका छन् । मान्छेको दिमागले सोचेका सबैजसो काम गर्नसक्ने उन्नत यन्त्रमानव बनाउने होडबाजी सुरु भएको छ । विज्ञान र प्रविधि क्षेत्रमा भएको यो विकासबाट नेपाल पनि अछुतो देखिएको छैन । नेपालमा पनि विभिन्न क्षेत्रका व्यक्तिहरुले एआईको प्रयोग गर्न थालिसकेका छन् र भोलिका दिनमा अझ बढ्न निश्चित छ ।

नेपालको कृषि क्षेत्रमा एआईको प्रयोग गर्न सके त्यसबाट ठूलो लाभ प्राप्त हुने वैज्ञानिकहरुले बताइसकेका छन् । तर,यसको दुरुपयोगबारे पनि उत्तिकै चिन्ता जाहेर भएको छ । एआईको दुरुपयोग गरी तस्वीरहरु बिगार्ने,व्यक्तिको चरित्र हत्या गर्ने प्रयासहरु नेपालमा पनि हुन थालेका छन् । हुन त, यो विश्वव्यापि समस्या हो तर नेपालजस्तो भ्रम बिक्ने देशमा यस्तो प्रवृत्तिले निम्त्याउने दुष्परिणाम डरलाग्दो हुने सम्भावन बढी छ । यताप्रति कसैको ध्यान जान सकेको छैन ।

सूचना प्रविधिको उपयोगमा अगाडि भए पनि त्यसबाट समुचित लाभ कसरी लिने भन्नेबारे नेपाल सरकारले खासै ध्यान दिएको छैन । नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय त छ तर यो मन्त्रालयको आँखा विश्वमा भइरहेको परिवर्तनप्रति छँदैछैन । नास्टजस्तो अनुसन्धान गर्ने थलोलाई राजनीतिक भर्तिकेन्द्र बनाउन राजनीतिक दलहरु उद्यत छन् । बालकृष्ण समले भनेजस्तै ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ भन्ने उक्ति यहाँ चरितार्थ हुँदै आएको छ । यो दुर्भाग्यपूर्ण छ । नेपालले आधुनिक प्रविधिलाई रोक्न सक्दैन । प्रविधिलाई निषेध गर्नु समस्याको समाधान पनि हैन । विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ आविष्कारहरु उपयोग गर्दै अझ उन्नत प्रविधिको विकास गर्न अनि त्यसबाट वैदेशिक मुद्रा आर्जन गर्न सकिने सम्भावनाका ढोकाहरु खुलेका छन् । नेपालमै बसेर विश्व बजारमा आफ्ना उत्पादन पठाउन सक्ने यो क्षेत्रको विकासमा योजनावद्ध रुपले अगाडि बढ्नुपर्छ ।

सूचना प्रविधिमात्र यस्तो क्षेत्र हो, जसले सहजै खुला बजारमा प्रवेश पाउँछ । युवालाई नेपालमै राखेर विदेशी मुद्रा आर्जन सम्भव बनाउँछ । ढिला भइसकेको छ तर सम्भावनाको ढोका खुलै छ । अतः राज्यले सूचना प्रविधिको उपयोग बढाउन, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नको लागि नीतिगत रुपले नै काम गरिहाल्नुपर्ने भएको छ । रोएर बस्ने अनि विज्ञान र प्रविधिले सिर्जना गरेको अवसर नछोप्नुजस्तो लाचारी अरु केही हुँदैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->