आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८०, आइतबार

पोखरा/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ ।

व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ टोड्केबाट यात्रामा निस्किएको हो । अहिले आधार शिविर जान धवलागिरी गाउँपालिका–४ मुदिबगर हुँदै पाँच दिनमा आधार शिविर पुगिन्छ । नयाँ ट्रेक टोड्के धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम लिएर टोड्केबाट शनिबार बिहान गन्तव्यतर्फ निस्किएको छ । टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्रस्थानविन्दु तय गरिएको टोड्केमा बिदाइ गरे ।

यो टोली पहिलो दिन शनिबार टोड्केबाट मालिकाधुरी हुँदै ठाडाखानी पुग्ने छ । दोस्रो दिन ठाडाखानीबाट कुइने, तेस्रो दिन कुइनेबाट झासीखर्क, चौंथो दिन झासीखर्कबाट सङ्गुरथाला कछुवा ओडार, पाँचौ दिन कछुवा ओडारबाट धौलागिरी आधार शिविर, छैटौं दिन आधार शिविरबाट कालीबराह हुँदै मुस्ताङको लेते निस्कने टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । यात्राको आठौं दिन टोली लेतेबाट सिँगा तातोपानी हुँदै पोखरा फर्कने छ ।

टोलीलाई बिदाइ गर्दै पर्यटनमन्त्री थापाले पर्यटनको भविष्य कसरी विकास गर्न सकिन्छ भन्ने भएरै मन्त्रालयले नयाँ पदमार्ग पहिचानमा मन्त्रालयले साथ दिएको सुनाए ।

मन्त्रालयका उद्योग–पर्यटनतर्फका सचिव कुमानसिंह गुरुङले सरकार, निजी क्षेत्रले प्रवर्द्धनमा सहयोग गर्ने भएपनि आफ्नो कला संस्कृति देखाएर पर्यटन विकासमा स्थानीयले भूमिका खेल्नुपर्ने बताए ।

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा भएपछि पदमार्ग पर्यटन विकास भएकाले धौलागिरीलाई पनि संरक्षण क्षेत्र घोषणा गर्दा उचित हुने सुझाव सरकारलाई दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->