चलचित्र पत्रकार संघले कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सिनेमा संवाद कार्यक्रमको सफल आयोजना गरेको छ । मादी गाउँपालिकाले सघाएको सो कार्यक्रममा सिनेमाका विविध आयामबारे चर्चा गरियो । सरकारबाट नेपाली सिनेमाले प्रोत्साहन नपाएको, नेपाल चलचित्र विकास बोर्डले गर्नुपर्ने काम नगरेको र निर्माता–निर्देशकहरुले नेपालीपनको सिनेमा नबनाएका विषयहरु जोडतोडले उठे । सो संवादले आउँदा दिनमा नेपाली चलचित्रको गुणस्तर सुधार्न,दर्शकलाई हलसम्म ल्याउने वातावरण निर्माण गर्न कति सघाउला ? हेर्न बाँकी छ । तर, चलचित्र पत्रकार संघ कास्कीले चुनेको संवादस्थलले भने हाम्रा सुन्दर गाउँहरु, त्यहाँको संस्कृति एवं दृष्यहरु चलचित्रको अभिन्न अंग बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ । अर्कोतर्फ, सिनेमा पर्यटन प्रवद्र्धनको आधार बनाइनुपर्छ र बन्छ भन्ने मान्यता पनि दुई संस्करणको कार्यक्रमले स्थापित गराएको छ ।
सिनेमामा देखेको ठाउँ दर्शकको मनमा गड्न पुग्छ । दर्शकलाई त्यो ठाउँमा पुगौं–पुर्गौ बनाउँछ । यही सत्यलाई बुझेर विभिन्न देशहरुले चलचित्र निर्माताहरुलाई रातो कार्पेट बिच्छ्याएर स्वागत गर्छन् । कर छुट दिन्छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने केही अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कन हुँदा त्यसले पर्यटन प्रवद्र्धन भएको छ । पर्यटन प्रवद्र्धनको लागि गरिने अन्य कार्यक्रमभन्दा सिनेमाले गरिदिने प्रचारले मानिसलाई तान्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । त्यसैले पर्यटन प्रवद्र्धनको लागि सिनेमा विश्वभर नै सबैभन्दा महत्वपूर्ण माध्यम बनेको छ । सिनेमा निर्माणका बखत निर्माण समूहले गर्ने खर्चलाई पनि पर्यटनसँग नै जोडिन्छ ।
नेपालको सन्दर्भमा भने सिनेमालाई पर्यटन प्रवद्र्धनसँग जोडिएकै छैन । सिनेमा निर्माताहरुले पर्यटन प्रवद्र्धन गरेवापत् राज्यबाट कुनै पनि प्रकारको सहुलियत पाएका छैनन् । चलचित्रले गरेको प्रचारलाई पर्यटन व्यवसायीहरुले पनि बुझेकै छैनन् । यो दुःखद अवस्था हो । नेपाल आफैमा सुन्दर छ । सुन्दर देशलाई विश्वभर प्रचार गर्न अब सिनेमाको सहारा लिनुपर्छ । प्राकृतिक रुपले नै स्टुडियो मानिने यो ठाउँमा अन्तर्राष्ट्रियस्तरका सिनेमा छायाङ्कनलाई प्रोत्साहित गर्नुपर्छ । यसो गर्दा एकातिर उनीहरुले गर्ने खर्चले देशको अर्थतन्त्र माथि उकासिन्छ भने अर्कोतर्फ यसले पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान गर्छ । यसैगरि राज्यले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि नेपाली सिनेमाहरुलाई पनि ठाउँ चिनाउने अभियानमा लगाउनुपर्छ । सिनेमा र पर्यटनलाई जोडेर आर्थिक समृद्धिको बाटो समात्नुपर्छ । स
