पोखरा/ पछिल्ला केही वर्षयता गाउँघरतिर बाँदरले अचाक्ली दुःख दिन थालेका छन् । खेतीबाली खाइदिने,च्यातचुत पार्ने र धपाउँदा पनि नजाने बाँदरबाट गाउँलेहरु आजित छन् । अम्बा,केरालगायतका फलफूल,मकैलगायतका अन्नको त कुरै छाडौं, बाँदरले मेवाको पात पनि छाडेका छैनन् । बाठा बनेका बाँदर कतिबेला घरको मान्छे यताउता लाग्ला र सुटुक्क घरमित्र पसौँला भनेर ढुकेर बस्न थालेका छन् । आक्कल–झुक्कल देखिने र मान्छे देख्नासाथ कुलेलाम ठोक्ने बाँदर आजकल भाग्दैनन् बरु आइमाइ र केटाकेटी देखे भने झम्टिन पछि पर्दैनन् । बलियाबाङ्गासँग डराइहाले भने पनि अग्लो रुखको हाँगाबाट डेग चल्दैनन् । अचाक्ली भएपछि किसानहरुले खेती लगाउनै छाडेका छन् । बारीहरु बाँझो भएका छन् ।
बाँदरबाट सताइएकाहरुले अघिल्लो चुनावमा ‘जसले बाँदर धपाइदिन्छ उसैलाई भोट दिने’ बाचासम्म गरे । वडा,पालिका,प्रदेश र संघीय सरकार गुहारे÷गुहारिरहेका छन् । हिजो गाउँ पुगेका मन्त्री र सांसदसँग विकासे योजना माग्ने गाउँलेहरु अहिले बाँदर नियन्त्रणको माग राख्न विवश छन् । केही पालिकाहरुले बाँदर नियन्त्रणको लागि बजेट नै विनियोजन गरेका छन् । हेरालो राख्ने प्रबन्ध, बाँदर तर्साउनले बन्दुकलगायतका सामग्री बितरण पनि गरिएको छ । पर्वतको कुश्मा नगरपालिका १ मा त वडाध्यक्ष बाँदर धपाउन धरालो नै राख्ने निर्णय गरियो । वडाध्यक्ष राम शर्मा लामिछाने स्वयं पालो अनुसार धरालो बस्दै आएका छन् । तर, ती प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् ।
गाउँतिरको बाँदर आतंक देखेका नेपाली कांग्रेसका उपसभापति तथा हालका कानूनमन्त्री धनराज गुरुङले अघिल्लो वर्षको वैशाखमा संसदमै ‘बाँदर निर्यात’ को प्रस्ताव राखे । उनले संसदमा भनेका थिए,‘’किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । यसो गरे कसो होला सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ,तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय ।’
उनले बाँदर निर्यात गर्नु जायज भएको तर्कसमेत गरेका थिए । उनले भनेका थिए,‘ अष्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौँ कंगारुहरू मार्दैछ । कंगारुको छाला निर्यात गर्दैछन् । र, त्यसको मासु पनि प्रयोगमा ल्याउँदैछ । श्रीलंकाले हालसालै एक लाख बाँदरहरू निर्यात गर्ने निर्णय गरेको छ ।’उनको भनाइको आलोचना गरियो । त्यसो त, उनले भनेजस्तै बाँदर निर्यात गर्ने श्रीलंकाको निर्णय पनि आलोचनामुक्त थिएन । वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र ¥याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलंकाले त्यसमा आपत्ति जनाएका थिए ।
बाँदर किन गाउँ पसे ? किन आक्रामक भएका छन् ? र, कसरी नियन्त्रण गर्ने भन्नेबारे विस्तृत अध्ययन र उपाय सुझेको छैन । बाँदरको पुरानो बासस्थान नासिँदा, जंगलमा खानेकुरा नपाउँदा, जलवायू परिवर्तनका कारण पुरानो बास बस्ने ठाउँतिर गर्मी हुँदा,बाँदरको जनसंख्या बढ्दा र गाउँघरतिर जंगल बढ्दा बाँदरहरु गाउँ पसेको तर्क गरिँदै आइएको छ । तर्कहरुमा असहमति जनाउने ठाउँ छैन । तर, बाँदरको प्रभावकारी नियन्त्रण चाहिँ किसानहरुको पहिलो माग बनेको छ ।
बाँदर आतंकबारे गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि जानकार छन् । उनी पछिल्लो समय गाँजा खेतीको वैधानिकताको पक्षमा देखिएका उनले बाँदरकै कारण गाउँघरतिर बारी बाँझो रहेको तर्क गरेका थिए । उनले भनेका थिए,‘ अहिले गाउँहरु पूरा रित्तो छन् । बारीहरु बाँझो छन् । दिनदिनै गाउँका साथीहरु आउनुहुन्छ, गाउँका मान्छेको एउटै आवाज छ, बाँदर धपाइदे । बाँदर रोक्दे । बाँदर रोक्ने उपाय छैन । कम्तिमा बाँदरले गाँजा खाँदैन हेर्नुहोस् । मैले बुझेको यत्ति हो । त्यसैले बाँझो बारीमा गाँजा उत्पादन हुनसक्छ । त्यहाँ गाँजा रोप्ने हो । त्यसबाट औषधिजन्य उद्योग खोल्ने हो ।’
यस्तो छ बहसको श्रृंखला
उफ्रने बाँदरलाई माथिल्लो तलामा पुग्न लिस्नो चाहिँदैन ? लिस्नो लगाइयो भने चाहिँ ? सायद,बाँदर झन खुसी होला ! कसैलाई गलत कामको लागि हौस्याउँदा बुढापाकाहरु ‘बाँदरलाई लिस्नो’ उखान सम्झन्छन् ।
पोखरामा यतिबेला बाँदरले नै बहसको लागि लिस्नोको काम गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणको लागि घर वरपरका रुख काट्न आह्वान गरे । ‘मेरो रुख म काट्छु’नारासहित वडाबाट सोमबार जारी सूचनामा ‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउन साथै आ–आफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ ।’
सूचनाले बहसको लागि ‘लिस्नो’ कै काम ग¥यो । पोखरा महानगरपालिकाको विज्ञ समूहमा रहेका विश्व सिग्देलले सो सूचनासहित सामाजिक सञ्जालबाट प्रश्न गरे ,‘ यस्तो लज्जास्पद निर्णय कसरी गर्नुभयो ?’ बाँदर नलाग्ने कुँडहर निवासी उनी त्यत्तिमै रोकिएनन् ।
उनले अगाडि लेखे,‘ यो निर्णयले पोखराको मात्र हैन, तपाईं–हाम्रा सन्तान स्वयम्ले भोलि भविष्यमा शिर झुकाउने छन् ,हाम्रो सन्तान भएर जन्मनु परेकोमा धिक्कार्ने छन् । घरमा उडुस, उपिँया, मुसाले दुःख दिए भनेर घरमै आगो लगाउने हैन ,घरको सरसफाइ गर्ने हो ,उनीहरु नआउने माहौल सृजना गर्ने हो । टाउकोमा लिखा जुम्रा परे भने टाउको काटने हैन रिट्ठो–पाति कुटेर लेदो बनाएर नुहाउने हो । शरीरको सरसफाइमा ध्यान दिने हो ।’
अष्ट्रेलियामा समय समयमा लाखौं कंगारु जंगली खरायोहरु उपलब्ध जमिन जंगल आहार तथा उनीहरुको लैंगिक अनुपात उमेर हेरेर मारिने गरेको दृष्टान्त दिँदै उनी अगाडि थप्छन्,‘ हाम्रा जंगल ,जंगलको आकार ,जंगलमा उपलब्ध आहार तथा लिंग उमेरको अनुपात गणना गरेर बाँदर निर्यात गरेर वा मारेर मासु निर्यात गरेर पनि समस्याको समाधान हुन सक्छ ,सबै देशले गरिरहेछन् ।’
उनले मध्यवर्ती बनहरुलाई मानवीय क्रियाकलापबाट मुक्त राख्न सकिने तर्क गर्दै सराङकोट र काहुँकोटबाट हेर्दा रुखहरु र चरा उडिरहेको मात्र देख्ने पोखरा बनाउनुपर्ने धारणा राखे ।
त्यसको केही समयपछि पोखराका मेयर नै सामाजिक सञ्जालमा ओर्लिए । उनले वडाध्यक्षको सूचनाप्रति आपत्ति जनाउँदै तथा विज्ञ सिग्देलको पदचाप पच्छ्याउँदै लेखे,‘ रुख आफैँ काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सोसम्बन्धी कुनै पनि कार्य (रुख काट्ने÷फाँड्ने) नगर्नू÷नगराउनुहुन सम्बधित सबैलाई जानकारी गराइसकिएको छ । भ्रममा नपर्नुहुन अनुरोध छ ।’
सामाजिक संजालमा बहस निम्तिएपछि कोभन्दा को कमको शैलीमा प्रतिक्रियाहरु आइरहेका छन् ।
र,त्यसमा खरो प्रतिक्रियासहित मिसिएका छन्–अभिनेता तथा निर्देशक केदार पौडेल । उनले रुख काट्नु जायज भएको तर्क गर्दै खुला बहसको लागि आफू तयार रहेको उद्घोषसहित लेखेका छन्,‘ बिहानदेखि थुप्रैले यो गलत भनेर यो जाडोमा बिस्तारा भित्र बाट न्यानो हुदै फेसबुकको न्यायाधीश बनेको देखेँ र मेरो घरको समस्या लेख्न मन लाग्यो । विदेशीले बनाएको मोबाइल,बिदेशीले बनाएको फेसबुक र विदेशबाटै किनेर ल्याइएको इन्टरनेटको मासिक शुल्क तिरेर चलाइएको इन्टरनेटबाट लामाचौर घार्मीमा बाँदरले कति,कसरी दुख दिएको छ भन्ने कुरा को मूल्यांकन गर्न गाह्रो हुन्छ मान्यबर । उसो त, भौगोलिक हिसाबले पोखरा भ्यालीबाट केहीमाथि (डाँडामा)उक्लियो भने यो समस्या हरेक वडामा छ । मेरै पोखरा २२ मा बाँदर आतंकको सबैभन्दा ठूलो सिकार पुम्दिभुम्दीको लुकुस्वाँरामा रहेको मेरो घर पनि हो । ऊ बेला बुढा हरुले घाँस हुन्छ टाढा जान पर्दैन भनेर जथाभावी मोठ बनाउदै पाखुरीका रुख हरु रोपे । अहिले ती पाखुरी ले हाँगा पैलाएर एउटा घरबाट अर्को मा पुग्न सक्ने बातावरण बाँदरले पायो । माथि टुप्पामा चढेर बस्छ । कतिबेला मान्छे मुत्न जान्छ,त्यही बेला करेसबारीको तरकारी चोरेर त्याइ रुखको टुप्पोमा बसेर खान्छ ।’
उनी आक्रोशित हुँदै लेख्छन्,‘ रुख काट्ने भनेको गाउँ नै सक्काउने हैन नि । तिमी फेसबुके न्यायाधीशलाईमात्रै थाहा भए जस्तो नगर न हौ !’
बहसको अन्त्य भएको छैन । बरु, गण्डकी प्रदेश सरकारले चाहिँ बाँदर नियन्त्रणको लागि रुख काट्ने अभियान संचालनमा नल्याएको बन मन्त्रालयले जनाएको छ । गण्डकीको बन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेले रुख काटेर समस्याको समाधान नहुने बताए ।
यस्तो (रुख काट्ने) नीति छैन । रुख काटेर समस्याको समाधान हुँदै । जलवायु परिवर्तनको असर यस्तो छ । निजी वनमा रहेका रुख पनि काट्दा झन के होला ?’ बाँदर नियन्त्रणको उपाय के त ? उत्तरमा उनले वैकल्पिक खेती लगाउने, धपाउनको लागि प्रविधि प्रयोग गर्नुपर्ने र मंकी पार्क बनाएर बाँदरलाई थक्याउन सकिने बताए । ‘मंकी पार्क बनाएर त्यहाँ राख्ने व्यवस्था गर्न सकिन्छ । बाँदरको आनीबानी त रमाइलो छ नि । त्यसबाट पर्यटकलाई मनोरञ्जन दिलाउन सकिन्छ,’उनले भने । उनले बाँदर नियन्त्रणको लागि बजेट नछुट्याइएको र प्रदेश सरकारले अध्ययनको लागि भनेर छुट्याएको रकम पनि प्रयोगमा नआएको बताए ।





