बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

किसान भएर सोच

किसान भएर सोच


  • Dhorpatan News
  • माघ १८ २०८०, बिहिबार

पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट बाली जोगाउनको लागि बारी वरपरका अग्ला रुख काँटछाँटको लागि जारी सूचनाले पोखरासहित देश तरंगित बन्यो । सूचनाको शब्द चयनलाई बिर्सेर आशयमात्र बुझ्ने हो बाँदरबाट किसानले लगाएको बाली जोगाउनकै लागि उनले सो सूचना जारी गरेको प्रष्ट हुन्छ । अन्नबाली सखाप बनाउने, घरभित्रै पसेर अन्न खाइदिने, धपाउँदा पनि नभाग्ने र भागे पनि वरपरका अग्ला रुखमा गएर बस्ने बाँदरबाट आजित भएका किसानकै भलोको लागि उनले सूचना जारी गरेका थिए । तर, जारी सूचनाको मात्र नभएर वडाध्यक्षकै विरोध भयो । वास्तविक धरातलमा नओर्लने, तथ्य नबुझ्ने र सामाजिक सञ्जालमा ‘पाँडेगाली’ गर्ने समूह वडाध्यक्ष पाण्डेमाथि खनियो । कतिसम्म भने,सामाजिक सञ्जालको भार थाम्न असमर्थ भएपछि पोखराका मेयर धनराज आचार्यले नै वडाध्यक्षलाई सूचना कार्यान्वयन नगर्न निर्देशन जारी गरे । वडाध्यक्षले चुपचाप निर्णय माने ।

तर, मेयरको निर्देशन र सामाजिक सञ्जालमा बतुराउने तथाकथित् बुद्धिजीविहरुको ब्यहोरा देखेर वास्तविक किसान भने रुष्ट बनेका छन् । बाँदरबाट सताइएका, खेतबारी बाँझो राख्न अभिषप्त बनेका र बाँदरकै कारण खेती थन्क्याउन नपाउँदा पोको बोकेर बसाइँ रोजौं कि भन्ने मानशिकतासमेत बनाएकाहरुलाई उनीहरुको तर्कले निराश बनाएको छ ।

गाउँघरतिर बाँदर आतंकले मान्छे हैरान छन् । उनीहरु यो समस्याबाट मुक्ति चाहन्छन् । बाँदर धपाउने उपाय सुझाउन,खेती थक्याउने वातावरण बनाइदिन र थन्क्याइएको खेती बाँदरले नखोसोस् भन्ने उनीहरुको मागको कतैबाट संवोधन भएको छैन । केही पालिकाले गरेका अस्थायी प्रबन्ध र राहतका कार्यक्रम पनि प्रभावकारी हुन सकेका छैनन् । बाली बीमा र क्षतिपूर्तिजस्ता सहुलियत घोषणाबाट पनि मन थाम्ने अवस्था छैन । किनकि, एक त क्षतिपूर्ति नै नगन्य हुन्छ र भए पनि लिन उत्तिकै झण्झट छ । आफैंले लगाएको र हुर्काएको घाँसको रुखको फेद ठुन्क्याउने रहर कसैलाई छैन । तर, रुखको टुप्पोमा गएर जिस्क्याउने बाँदरको हैरानीबाट मुक्ति मिल्छ कि भन्दै उनीहरु छाँट्ने अवस्थामा पुगेका हुन् ।वरपर झाँडी र रुख नहुँदा कम्तिमा लखेटेको बाँदर केही टाढा जान्छ र केही समयलाई शान्ति हुन्छ भन्ने उनीहरुको बुझाइ छ । बाँदरको व्यवस्थापन र बालीको भरपर्दो सुरक्षा नहुँदासम्म यस्तो गर्नुलाई नाजायज भन्न मिल्दैन ।

पर्यावरणीय दृष्टिकोण, पशु अधिकारको संरक्षण, बाँदर धपाउने वैकल्पिक उपायबारे चर्चा गर्न सकिएला तर बाँदरले बाली सखाप बनाएपछि आजित बनेका किसानहरुको मर्का बुझ्ने प्रयत्न हुनुपर्छ । सहरमा बसेर गाउँका रुख काट्न पाइँदैन भन्ने अलाप कुनै कोणबाट पनि सुहाउँदैन । सहरमा बसेकाहरुले गाउँमा बाँदरले दिएको सास्ती बुझ्दैनन् । अतः यस्ता स्वघोषित वातावरणविदको कुरा सुन्न छाडेर किसानलाई स्वनिर्णय गर्ने वातावरण निर्माण गरिनुपर्छ । रुख छिमोलिनैपर्छ । ठूला कुरा गर्नेहरुले पनि किसान भएर समस्याको गहिराइ बुझ्दा राम्रै हुन्छ । तर, बाँदरको व्यवस्थापन,खेतीबालीको सुरक्षा र पर्यावरणीयढ सन्तुलनको विषयबारे अन्ततः राज्यले नै जिम्मेवारी लिनुपर्छ । समस्या निराकरणको तत्काल पहलकदमी गरिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->