पोखरा/ विश्व सिमसार दिवसको अवसर पारेर पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
विद्यालयको क्रिएटिभ माइन्डस क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयका विद्यार्थीले भाग लिएका थिए । फेवाताल सिरानको खपौदी क्षेत्रमा गएर स्थलगत रुपमै चित्र कोरेका करिब एकसय जना विद्यार्थीले शुक्रबार दिवसको अवसर पारेर विद्यालयमा प्रदर्शनी गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार करिब एकसय जना विद्यार्थीले फेवातालको सिरान क्षेत्रमा रहेर सिमसार क्षेत्रलाई झल्काउने गरि चित्र कोरेका थिए ।
विहीबार चित्र कोरेका विद्यार्थीले शुक्रबार विद्यालय परिसरमा प्रदर्शनी गरे । कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । पौडेलले मानव जीवनका लागि सिमसार क्षेत्रको अति नै महत्व रहेको बताए । उनले जलवायु परिवर्तनले वातावरणमा परेको असरबारे सचेत हुनुपर्ने बताए ।
चित्रकला प्रतियोगितामा उत्कृष्ट चित्रलाई पुरस्कृत पनि गरिएको थियो । अमन कुँवरले कोरेको चित्रले प्रथम स्थान हाँसिल गर्दै ५ हजार रुपैयाँ पुरस्कार पायो । त्यस्तै आयान इकवालको चित्र दोश्रो हुँदै ३ हजार र निश्चल सुवेदी र केशव शाहीको चित्रले तृतीय स्थान हासिल गर्दै जनही २ हजार रुपैयाँ पुरस्कार पाएको थियो ।
विद्यालयको क्रिएटिभ माइन्डस क्लवका अध्यक्ष सिद्धान्त खनालले विद्यालयस्तरमै सिमसार क्षेत्रबारे सचेत बनाउने हो भने भविश्य पनि उज्जवल हुने बताए ।
विश्व सिमसार दिवस हरेक वर्षको फेब्रुअरी २ मा चेतनामुलक विभिन्न कार्यक्रम मनाइदै आइएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।





