नेपालसहितका विकासोन्मुख देशहरुमा अर्बुद्ध अर्थात् क्यान्सर रोग डरलाग्दोसँग फैलिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । नसर्ने यो रोगले अहिले पनि कुल मृत्युको ११.११ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्कहरु सार्वजनिक भएका छन् । चिकित्सकहरुका अनुसार यसमा पाठेघरको मुख र फोक्सोको क्यान्सर हुनेहरुको संख्या उल्लेख्य छ । विश्वकै तथ्याङ्क हेर्ने हो भने पनि प्रत्येक ६ वटा मृत्युमध्ये एउटाको कारक क्यान्सर रहेको पुष्टि भइसकेको छ ।
क्यान्सरकै उपचारका लागि देश र विदेशका अस्पताल चहारेर सर्वश्व गुमाउनेहरुको संख्या बढ्दै गएको छ । छिमेकी भारतका प्रसिद्ध अस्पताल धाउनेहरुमध्ये धेरैजसो यही रोगबाट प्रताडित हुने गरेका छन् । जनधनको क्षति गराउने यो रोग सुर्तिजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियताबाटै उत्पन्न हुन्छ । रोगले यो वा त्यो भन्दैन । उमेर र लिङ्ग हेर्दैन । रोगको पहिचान भए पनि उपचार सामान्य व्यक्तिको पहुँचभन्दा बाहिर छ । जसले गर्दा क्यान्सर मृत्युको पर्यायबाची शब्द बन्न पुगेको छ । चिकित्सा बिज्ञानले गरेको ठूलो प्रगतिले पनि यो रोगको निदान तथा उपचार सहज बनाउन सकेको छैन । तर, यो रोगलाई जीत्न नै नसक्ने भने हैन । समयमै रोगको पहिचानसहित उपचार हुँदा रोगबाट मुक्ति पाउन सकिन्छ ।
स्वास्थ्यको सन्दर्भमा अक्सर भनिने एउटा वाक्य हो–रोग लागेपछि उपचार गर्नुभन्दा बाटै छेक्नु जाति । रोग लागोस् भन्ने चाहना कसैको पनि हुँदैन तर खानपान,असन्तुलित जीवनशैलीलगायतका कृत्यहरुले रोगलाई निम्ता दिन्छ । क्यान्सरकै हकमा पनि वजन कम गर्ने,सन्तुलित भोजन र दिनचर्या,धुम्रपान र मध्यपानको त्याग, नियमित व्यायामबाट ५० प्रतिशतभन्दा बढी क्यान्सरको जोखिम कम गर्न सकिन्छ । शरीरमा हुने अनियन्त्रित कोषहरूको वृद्धिबाट नै क्यान्सर सुरु हुन्छ । स—साना गिर्खाको बढ्छन् र क्यान्सरको स्वरुप ग्रहण गर्छन् । समयमै यस्ता गिर्खाबारे सचेत हुने हो भने उपचार सम्भव हुन्छ । तर, नेपालमा जनचेतनाको अभाव, रोग लुकाउने तथा आर्थिक अभावकै कारण अस्पतालको पहुँचबाहिर हुनुपर्ने नियतिले पनि धेरैलाई गाँजेकै छ ।
क्यान्सरको लक्षण के हो भन्ेन थाहा नै नपाउने र रोग शरीरमा फैलिइसकेपछि मात्र अस्पताल पुग्नेहरुको संख्या घटाउन राज्यले प्रभावकारी सचेतनाको कार्यक्रम संचालन हुनैपर्छ । अर्कोतर्फ, क्यान्सरको उपचारको लागि अस्पतालमा सहज पहुँच र समयमै उपचार पाउने अवस्थाको सिर्जना पनि अपरिहार्य नै छ । नेपालमा भएका अस्पतालहरु आफैंमा बिरामी छन् । उपचारको लागि पालो पर्खनुपर्ने त छँदैछ, आधुनिक उपचार पद्धतिविमुख पनि रहेकै छ । जसले गर्दा नागरिकहरु उपचार नपाएरै मृत्युवरण गर्न विवश छन् । क्यान्सरको उपचारको लागि हाल प्रयोगमा आएका शल्यक्रिया, रेडिएसन र किमोथेरापीको सहजतामात्र भए उपचारकै लागि विदेशिनुपर्ने बाध्यता हट्छ भने मृत्युदरमा पनि कमी आउँछ । अर्को कुरा, आत्मविश्वासले क्यान्सरलाई जित्न सकिन्छ । जसको लागि बिरामीमा आत्मविश्वास जगाउनु,उप्रेरणा दिनु र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने वातावरण हुनैपर्छ ।
