कृषि विकास निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ मा गण्डकी प्रदेशमा करिब तीन अर्ब रुपैयाँ बराबरको उच्च स्तरको सुन्तला उत्पादन भएको छ । तीन अर्बको सुन्तला उत्पादन हुनु चानचुने कुरा हैन ।
कृषि विकास निर्देशनालय हिमाल पारीको दुई जिल्ला मनाङ र मुस्ताङबाहेकका जिल्लाहरूमा ५४ हजार दुई सय २८ मेट्रिक टन निर्यात भएको छ । औसतमा प्रतिकिलो ५५ रुपैयाँ दरले सुन्तलाको मूल्य कायम गर्दा दुई अर्ब ९८ करोड २५ लाख ४० हजार रुपैयाँको कारोबार भएको तथ्याङ्क निर्देशनालयमा छ ।
युवा विदेशिने क्रम बढेको बाँदर आतंकले गाउँहरु खाली भएको,नेपाल संलग्न नै नभएको युद्धमा भकाभक नेपाली मारिएको, ठूला भ्रष्टाचारमा रानीतिक नेतृत्वको संलग्नताजस्ता दिक्कलाग्दा समाचारका बीचमा आएको यो समाचारले कृषिमा भएको अपार सम्भावना उजागरमात्र गरेको छैन,मिहिनेत गरे नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश पनि प्रवाहित गरेको छ ।
गण्डकीको मनाङ र मुस्ताङमा अमिलो फलफूल फल्दैन । तर,बाँकी सबै जिल्ला अमिलो फलफूलको लागि उर्वर छ । किसानलाई उत्प्ररित गरियो, बिरुवा, आवश्यक प्रावधिक सहयोग, औषधि अनि उत्पादित फलफूलको बजारीकरणमा सघाउने हो भने यो प्रदेशले अमिलो फलफूलबाट ठूलो आम्दानी लिनसक्ने प्रसस्त सम्भावना रहेको प्रमाणित भएको छ । साँच्चै किसानलाई प्रोत्साहित गर्ने हो भने, युवाहरुलाई कृषिमै लगाउन र विदेशिनबाट रोक्ने काम पनि सम्भव हुन्छ । तर, यसको लागि सरकारले विशेष चासो दिनुपर्छ । विचौलियाले मात्र लाभ पाउने र किसानले लागत मूल्य पनि नपाउने प्रवृत्तिको अन्त्य,बाली बीमा,समयमा मल, बिऊ र बिरुवा प्राप्ति,चाहेको बेला प्राविधिक सहयोग गर्ने वातावरण बनाइनुपर्छ । यसका साथै वास्तविक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गर्ने प्रणाली पनि विकास गरिनुपर्छ ।
अर्कोतर्फ,पछिल्लो समय सुन्तलामा रोगको प्रकोप देखिएको छ । पाक्नु अगावै पहेंलिने र झर्ने, बोट नै मर्ने यो प्रकोपका कारण लमजुङसहितका केही जिल्लाका किसानहरुले सुन्तला खेती छाडेका छन् । सुन्तलाबाट राम्रै उत्पादन लिएका ती किसानलाई पुनः सुन्तला र अमिलो फलफूल खेतीमा फर्काउन यस्ता रोगको निदानमा विशेष ध्यान दिनैपर्छ । यसो गर्दा खेती बिस्तारमात्र हुँदैन,आत्मनिर्भर अर्थतन्त्र पनि निर्माण हुन्छ । केही महिनाअघि भएको प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा चीन सरकारले अमिलो फलफूल,भैंसीको मासु र माछा आयात गर्ने प्रतिवद्धता जनाएको छ । कोरोला नाका संचालनमा आएपछि त्यही बाटो हुँदै अमिलो फल नै नफल्ने ठूलो बजारमा सुन्तलासहित अन्य अमिलो फलफूल निर्यात गर्ने सकिने सम्भावनालाई केन्द्रमा राखेर सरकारले योजना निर्माणमा गर्नुपर्छ । यसको लागि अमिलो फलफूल रोपौं भन्ने अभियान नै सुरु गरिनुपर्छ ।
