पोखरामा हालसालै आहा रारा पोखरा गोल्डकप प्रतियोगिता सम्पन्न भयो । बगर भाइखलकको भेट्रान फुटबलमार्फत् स्वास्थ्यप्रति सचेतना जगाउने अभियान होस् कि भलिबल खेलको विकासका लागि आयोजित टाइगर कप महिला तथा पुरुष भलिबल नै किन नहोस् ! त्यसले पोखरालाई खेलमार्फत् जीवन्त राख्दै आएको छ । पोखरा म्याराथनअन्तर्गत अपाङ्गता भएकाहरुको दौड सम्पन्न भएको छ । पोखरा म्याराथनप्रति आम पोखरेलीले ठूलो सदाशयता देखाउँदै आएका छन् । त्यसो त, पोखरामा नियमितजस्तो भइरहेको क्रिकेट प्रतियोगितासहितका अन्य खेल गतिविधिले खेलकुद मनोरञ्जनको लागि मात्रै पनि हैन भन्ने सन्देश प्रवाह गरिरहेका छन् ।
खेलकुद प्रतियोगिताहरुले मान्छेको दुःख बिर्साउने सामथ्र्य राख्छन् । दर्शकलाई मनोरञ्जन प्रदान गर्छ अनि अनुशासन पनि सिकाउँछ । खेलकुदले युद्धको पीडा भुलाएको अनि खेलकुदका हस्तीहरुले युद्धलाई पर धकेलेका दृष्टान्तहरु यसका प्रमाण हुन् । खेलकुदसँग राष्ट्रिय स्वाभिमान र इज्जत पनि जोडिएको हुन्छ । मैदानमा हुने स्वच्छ प्रतिष्पर्धाले राज्यको इज्जत बढाएको हुन्छ । युद्धको मैदानको जीतभन्दा खेलमा हुने जितले राष्ट्रिय भावना मजबुत बनाउँछ । भारत र पाकिस्तानबीचको खेलकै उदाहरणले पनि यो कुरा प्रष्ट पार्छ ।
यही कारणले सबैजसो देशहरुले खेलकुदमा ठूलो लगानी गरेका हुन्छन् । खेल आयोजनालाई राष्ट्रिय गर्वको विषय बनाउँछन् । नेपालको सन्दर्भमा भने खेलकुद कहिल्यै प्राथमिकतामा परेन । खेलकुदलाई पञ्चायतकालमा राजनीतिक स्वार्थसँग जोडेर जोडियो । पञ्चायतले खेलकुदमा गरेको लगानीलाई पञ्चायत जोगाउने अस्त्रको रुपमा प्रयोग ग¥यो । यो कुप्रथा त्यसपछि पनि रोकिएन । २०४६ सालको परिवर्तनपछि आएका सरकारहरुले योग्यहरुलाई खेलकुदमा ठाउँ नै दिएनन् ।त्यहाँ आफ्ना मान्छे भर्ना गर्ने अभियान चलाए । जो वास्तविक खेलप्रेमी थिए, उनीहरुलाई निराश बनाउने काम भयो । अर्कोतर्फ खेलमार्फत् देशको नाम चिनाउने खेलाडीहरु जीवनको उत्तरार्धमा भोकै बस्नुपर्ने अवस्थामा पुगे । यो समस्या अद्यावधि छँदैछ । जसले गर्दा खेलकुदप्रति आम मान्छेको आकर्षण नै हुन सकेन । खेलेर के पाइन्छ भन्ने भावना बलियो बन्यो । खेलाडी बन्ने सपनाहरु तुहाइयो । अभिभाावकहरुले खेलकुदमा लाग्न खोज्ने आफ्ना छोराछोरीलाई ‘बिग्रन लागेको’रुपमा अथ्र्याए । यो बिडम्बना थियो र हो ।
पछिल्लो समय नेपालका केही खेलाडीहरुले खेलेरै सम्मानित जीवन बिताएर उदाहरण प्रस्तुत गरेका छन् । त्यस्ता खेलाडी थोरै छन् तर अब राम्रो खेलाडी नेपालमै मात्र सीमित हुनुपर्छ भन्ने मान्यता उनीहरुबाटै तोडिएको छ । खासगरी क्रिकेटमा त्यो सम्भावना बढी देखिएको छ । यस्तोमा खेलप्रतिको मान्छेको रुचि बढेको छ । तर, खेलाडी उत्पादन व्यक्तिको इच्छासँगै राज्यको लगानीमा भर पर्छ । जससम्म राज्यले खेलाडीहरुलाई प्रोत्साहित गर्दैन र खेलकुद अनुत्पादक क्षेत्र हैन भन्ने बुझ्दैन तबसम्म अवस्थामा सुधार हुँदैन । पूर्वाधार निर्माण, नयाँ खेलाडी उत्पादन अनि उनीहरुलाई बाँच्ने आधार बनाइदिने काम राज्यकै हो । राज्यको लगानीबिना खेलकुदको विकास सम्भव छैन । खेलकुद राज्यको पहिचान हो र यसले मान्छेको मुहारमा खुसी ल्याउँछ भन्ने कुरा मनैबाट मनन गरेमात्र खेलकुदको वास्तविक विकास हुन्छ ।
