चालु आर्थिक वर्षको ६ महिनामा गण्डकी प्रदेशबाट मात्र ४० हजार युवा वैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सस्तो श्रम बजार गएकाहरुको तथ्याङ्क हो । पढ्ने नाममा युरोप र अमेरिका भासिएकाहरुको संख्या यसमा समावेश छैन । आप्रवासी श्रोत केन्दका अनुसार विदेशिनेहरु अधिकांश अदक्ष छन् ।
सीप नहुँदा जोखिमपूर्ण काममा खटिनुपर्ने उनीहरुको नियति हो । जसले गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै रहन्छ । भाषाको ज्ञान पनि नहुने र सीप पनि नहुने यी युवाहरुले अध्याँरो सुरुङको यात्रा तय गर्नुमा चाहिँ राज्य दोषी छ । देशमै अवसर भएको भए युवाहरु यसरी विदेश जाने थिएनन् । परिवारसँगै बसेर खस्रो–मीठो जे हुन्छ त्यो खाने चाहना पूरा नहुँदाको बाध्यता वैदेशिक रोजगारी बनेको छ ।
राज्य देशमा रोजगारी सिर्जनाको गफ त गर्छ तर फलानो देशसँग श्रम सम्झौता भयो भन्दै नागरिक विदेश पठाउने प्रबन्ध मिलाउँदा गर्व गर्छ । आफ्ना देशका नागरिकको सुरक्षा,अन्याय हुँदा न्यायको सुनिश्चितता गराउनबाट पनि राज्य चुक्दै आएको छ । अर्कोतर्फ, विदेशिन खोज्नेहरु पाइलैपिच्छे ठगिँदै आएका छन् । दलालहरुको फन्दामा परेर लाखौं रुपैयाँ गुमाउने, एउटा काम भनेर अर्को जोखिमपूर्ण काम गर्न बाध्य हुने,यौन हिंसाको सिकार हुँदा पनि राज्यले केही गर्न नसकेको भुक्तभोगीहरु बताउँछन् ।
केही गैरसरकारी संस्थाहरुले वैदेशिक रोजगारमा गएकाहरुको हितमा काम गर्दै आइरहेका छन् । त्यस्तान संस्थालाई पनि प्रोत्साहन गर्नबाट राज्य चुकेको छ । समग्रमा राज्य विदेश गएका नागरिकले पठाएको विप्रेषणमा रमाएको छ । जसले गर्दा देश युवाविहीन हुने खतरा बढेको छ । वैदेशिक रोजगारले हाम्रा गाउँ र सहर दुवै बदलिएका छन् ।
तर, राम्रो लाउने र मीठो खानेहरु बढेका छन् । उपभोक्तावादी संस्कृति गाउँसम्मै पुगेको छ । तर, यसले परिवार र समाजलाई बिगारेको पनि छ । बहुविवाह र पारपाचुके गर्ने उपक्रम बढेको छ भने हिजोको पारिवारिक संरचना खल्बलिएको छ । बेलैमा त्यता ध्यान नदिने हो भने वैदेशिक रोजगारीको विकृत पाटोले हाम्रो समाज नै छिन्नभिन्न पार्ने सम्भावना बढेर गएको छ ।
तर,अहिलेलाई वैदेशिक रोजगारी बाध्यता भएको छ । यसरी विदेशिनेहरुलाई सीप प्रदान गर्न, वैदेशिक रोजारीलाई मर्यादित र सुरक्षित बनाउन, श्रमको मूल्य प्राप्त गर्ने अवस्था सिर्जना गर्न तथा ठगिनबाट जोगाउन अभिमुखीकरण जरुरी हुन्छ । कम्तिमा विदेश जाने तयारीमा रहेकाहरुलाई अनिवार्यरुपले अभिमुखीकरणमा सहभागी गराउनुपर्छ । हातमा पासपोर्ट थमाउनुअघि अदक्षलाई दक्ष बनाउनुपर्छ । देशमै अड्याउन नसके पनि उनीहरुको सुरक्षा प्रबन्ध राज्यले नै मिलाउनुपर्छ ।
