राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड स्तरोन्नतीको काम चलिरहेको छ । मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्म ५४ किलोमिटर खण्डको काम थालेको एक बर्ष भयो । एक बर्षमा कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयारीको काम झण्डै ३५ प्रतिशत छ । जुन सुखद पक्ष हो । लामो समयको पर्खाइपछि करिडोर कलोपत्रेको काम सुरु हुँदा प्रभावित क्षेत्रका सर्वसाधारणमा आशाको सञ्चार भएको छ ।
दुई खण्डमा बिभाजन गरेर बागलुङ खण्डको कालोपत्रेका लागि कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बहुबर्षे ठेक्का लगयो । तर ठेक्का लागेको पहिलो बर्ष नै निर्माण कम्पनीले समयमा गरेको कामको भुक्तानी नपाएकै कारण काम रोक्नुपर्ने अवस्था आयो । झण्डै पाँच अर्बको आयोजनाका लागि चालु आर्थिक बर्षमा ८८ करोड रुपैयाँ मात्रै विनियोजित बजेट थियो । जुुन बजेट अहिले निर्माण कम्पनीहरुले गरेको कामको मुल्यांकन गर्ने हो भने एक सय दिनका लागि समेत अपुग बजेट हो । गत आ.ब.कै दायित्व सरेर आएको भुक्तानी गर्दा चालु आ.ब.मा कामका लागि बजेट अपुग भएको आयोजना कार्यालय बताउँदै आएको छ ।
देशभर निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माणका काम रोकिएका, समयमा काम नभएका र आयोजनाहरु नै अलपत्र परेका समाचार अखबारहरुमा आईरहेकै हुन्छन् । तर २४ महिनाको म्याद पाएको पहिलो १० किलोमिटर र ३६ महिनाको म्याद पाएको दोस्रो ४४ किलोमिटर खण्डका जोडतोडका साथ समयमा काम हुँदा भएको कामको भुक्तानी नपाउनु दुःखद पक्ष हो । करिडोर राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय महत्व त हुने नै भयो ।
उत्तर चीन र दक्षिण भारत दुई छिमेकीलाई जोड्ने सबैभन्दा कम दुरीको करिडोर भएकाले पनि यसको आवश्यकता र उपयोग देशकै लागि महत्वको बिषय हो । करिडोर समयमा कालोपत्रे हुनुपर्छ । बजेटको अभाव झेलिरहेको करिडोरको कलोपत्रेको कामलाई फेरी पनि निरन्तरता दिने र ठेक्का सम्झौता भएकै समयावधीभित्र काम सक्न सकिन्छ । त्यसका लागि सरकारी निकाय र निर्माण व्यवसायी दुवैको सकरात्मक तत्परता आवश्यक छ ।
सडकका कारण लामो समय कष्टकर जीवन बिताईरहेका बागलुङको दक्षिण क्षेत्र, पर्वत, गुल्मी, म्याग्दी, मुस्ताङ र पाल्पाहुँदै रुपन्देही सम्मका सर्वसाधारण लाभान्वित हुने आयोजनामा सरकारी ध्यान जाओस् । करिडोर कालोपत्रेका लागि सरकारले रकमान्तर गरेरै भएपनि बजेटको अभाव हुन नदिनु अहिलेको आवश्यकता हो । यो आयोजना समयमा सम्पन्न हुँदा गण्डकी प्रदेश र देशकै सुनौलो भविश्यको मार्ग कोरिने छ । बेलैमा चेतना भया ।
