बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विकासका लागि महायज्ञ सहारा

विकासका लागि महायज्ञ सहारा


  • Dhorpatan News
  • फाल्गुन १६ २०८०, बुधबार

मेला महोत्सव र धनधान्यान्चल, महायज्ञ लगाएर विभिन्न संस्थाको आर्थिक संकलन गर्ने यतिबेला लहर नै चलेको छ । बिद्यालय, क्याम्पस र अस्पताल बनाउने अभियानमा महायज्ञहरु निकै चर्चित हुने गरेका हुन् । धार्मिक क्षेत्रको बिकास र पर्यटन प्रवद्र्धनका लागि पनि महायज्ञ मार्फत विभिन्न उद्देश्य रखिएका छन् । राज्यको निकायले लगानी गर्नै नसकेका स्थानमा महायज्ञ मार्फत स्थानीयले दिएको चन्दाबाटै करोडौंका संरचना पनि बनेका छन् । शैक्षिक स्तर पनि बढाउने प्रयत्न भएका छन् ।

यस्तै मध्येका केही उदाहरण बागलुङमै संचालित छन् । गलकोट बहुमुखी क्याम्पसले गुणस्तर सुधार गर्दै नयाँ आवस्यकताका पढाइ थाल्न महायज्ञ आयोजना गर्यो । २०६१ सालमा महायज्ञबाटै संकलित १ करोड ९५ लाख रुपैयाँले स्थापना भएको क्याम्पसको बिस्तार र सुधार गर्न पुनः महायज्ञकै बाटो रोजिएको हो । यहाँका भौतिक संरचना निर्माण देखि शिक्षक नियुक्ती गरेर पढाइ संचालनमा पनि समुदायको योगदान छ । त्यतिमात्र हैन उनीहरुकै लगानीले बिद्यालय, खेलकुँद र अस्पताल निर्माणमा समेत योगदान पुगेको छ । त्यसैले गलकोटले पुनः स्थानीयबासी र बिदेशमा गएका पूर्व विद्यार्थी समेतलाई जोड्न महायज्ञको बाटो रोजेको देखिन्छ ।

त्यतिमात्र हैन बालुङकै पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलस निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्राउने लक्षमा पनि महायज्ञको बाटो रोजिएको छ । २०७१ सालमा महायज्ञ मार्फत पञ्चकोटमा धार्मिक संरचनाहरु बनाउने क्रम बढेको थियो । यहाँ अहिले सम्म ५० करोडबढीका संरचना बनिसकेका छन् । त्यस बाहेक अग्लो कलस बनाउने अभियान अझै जारी छ । झण्डै ५ अर्बको योजनामा यहाँ भैरहेका सबै काममा महायज्ञ, धनधान्याञ्चल र स्थानीयको दानमुठीकै भरछ । केही सामान्य निर्माण क्षेत्रमा स्थानीय सरकार र प्रदेश सरकार जोडिएका छन् । नत्र अधिकांस कामहरु महायज्ञकालागि दानमुठी गरिएको रकमकै भएको देखिन्छ ।

धार्मिक क्षेत्र भनेपछि स्थानीयले पनि मन फुकाएर सहयोग गरेको देखिन्छ । त्यतिमात्र हैन पञ्चकोट निर्माण हुँदा बागलुङको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । सहयोग सँगै बागलुङ आउने पर्यटकको कम्तिमा एक दिनको बसाई लम्ब्याउन सकिने स्थानीयको आस छ । पछिल्लो समय बसाइ सराइले रित्तीएका गाउँबस्ती फर्काउन कति संभव छ त्यो भविष्यले देखाउला, तर कम्तिमा आवधिक भएपनि पर्यटकले सहरका होटल भर्ने, गाउँका होमस्टेमा रमाउने वातावरण भने यस्ता प्रकारका गतिविधिले थप गर्ने आसा गरिएको छ ।

नेपालमा बन्ने मठमन्दिर र यहाँ बसाल्ने आतित्थ्यतालाई गुणस्तरीय बनाउन सकेमा सबा १ अर्ब जनसंख्या रहेको भारतका पर्यटक भित्राउन सकिन्छ । चीनका पर्यटक पनि कतिपय स्थानमा आउने नै भए । त्यो फाइदा नेपालले लिन सकेमा आर्थिक बिकासमा योगदान पुग्ने देखिन्छ । यद्यपी कतिपयले धार्मिक मेलामहोत्सवलाई एकपक्षीय रुपमा हेर्नपनि सक्छन् । तर समग्रतामा धार्मिक पर्यटक बढाएर देशको आर्थिक क्षेत्र बलियो बनाउने, बसाइ सराइलाई रोक्ने र नेपालका शिक्षा र स्वासथ्य संस्थाहरु गुणस्तरीय बनाउने हो भने महायज्ञहरु देश बिकासमा सहायक खम्बा बन्न सक्छन् । मुल खम्बा बन्ने राज्य पनि यस्ता क्षेत्रमा लगानी गर्न अगाडि बढ्नैपर्छ । जसले आर्थिक बिकासमा पनि योगदान पुग्ने, दक्ष जनशक्तीहरु पलायन नहुने अवस्था सिर्जना गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->