बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शहीदहरु र पार्क

शहीदहरु र पार्क


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८०, बिहिबार

२०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भर्खरै छैटौं स्मृति दिवस मनाइएको छ । रवीन्द्र पोखराका मात्र नभएर देशकै होनाहार र आशा गरिएका नेता थिए । उनीप्रति सद्भाव राख्ने र उनीबाट आशा गर्नेको जमात ठूलो थियो तर उनी रहेनन् । स्मृतिमात्र बाँकी रहयो । उनै रवीन्द्रको स्मृतिमा पोखरा १८, जामुनबोटमा पूर्णकदको शालिक स्थापना गरिएको छ ।

रवीन्द्रलाई सम्झनेहरु त्यहीँ पुग्छन् र उनीमाथि श्रद्धासुमन व्यक्त गर्छन् । उनीमात्र हैनन्, त्यहाँ राष्ट्रलाई विशेष योगदान दिएका शहीदहरुको शालिक राखिएको छ । शहीद पार्कको रुपमा विकसित सो क्षेत्र राष्ट्रका लागि योगदान दिनेहरुको स्मरण गर्नेमात्र नभएर पछिल्लो समयमा दृष्यावलोकन स्थल पनि बनेको छ ।

पोखराको बाक्लो क्रंक्रिटको जङ्गल देखिनु जामुनबोटको विशेषता हो ।स्वास्थ्यको ख्याल गर्नेहरु बिहानै डाँडा उक्लन्छन्, मनोरञ्जन र दृष्यावलोकनका शौखिनहरुको लागि यो पायकको गन्तव्य हो । पोखरा–१८ मा पर्ने जामुनबोटले हिजोआज परिचय बदलेको छ । रवीन्द्रसहित पृथ्वीनारायण शाह, योगेन्द्रमान शेरचन, भीमसेन दाहाल, पुष्पलाल श्रेष्ठसम्मको शालिक मात्रै छ्रैन,शारीरिक व्यायामका सामग्री पनि राखिएको छ ।

करिब ५७ रोपनी क्षेत्रफल फैलिएको पार्कको नाम नै ‘शहीद पार्क’ राखिएको छ । पोखराका विभिन्न चोकहरुमा रहेका शालिकहरु व्यवस्थापन गर्नकै निम्ति महानगरले जामुनबोटमा पार्क बनाएको हो । तर, शहीद पार्कमा घोषणा गरे अनुरुपका शालिकहरु भने अझै स्थापना हुन सकेका छैनन् । पोखराका विभिन्न चोकमा छरिएका शालिकहरुलाई एउटै ठाउँमा राख्ने लक्ष्य अझै पूरा भएको छैन । केही चोकहरुमा राखिएका शालिकहरु सामाजिक विग्रहको कारक पनि बनेका छन् ।

जीवन्त सहरमा मानवीय विकास क्रममा निर्मित सबै कुराहरु सुरक्षित हुन्छन् भन्ने महानगरले भुल्नु हुँदैन । फ्रान्सदेखि बेलायतसम्मका उदाहरण हेर्ने हो भने त्यहाँ पनि साँघुरा सडकमा शालिकहरु नभएका हैनन् । तर, उनीहरुले शालिकको व्यवस्थापन यसरी गरेका छन् कि, ती भद्दा लाग्दैनन् । त्यसले सहरकै सौन्दर्यता र वैभवता थपेको महशुस गराउँछन् ।

पोखराले फरक अभ्यास गरेको छ । फरक अभ्यास रचनात्मक थियो भने पुष्टि गराउनुपर्छ । शालिकहरुसँग सम्मान र इतिहास जोडिएको हुन्छ । शालिकहरुको मात्रै पार्क निर्माण हुँदा कुनै पनि कालखण्ड, व्यक्ति र समुदायको अवमूल्यन गरिनु हुँदैन । सबै शालिकहरुलाई यथासम्भव सही ठाउँमा व्यवस्थापन गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->