स्वर्गीय पण्डित नारायणप्रसाद पोखरेलले श्रीमद्भागवत महायज्ञलाई सामाजिक र शैक्षिक विकाससँग जोडे । उनको सत्प्रयासले कयौं विद्यालयका भौतिक संरचना बने । महायज्ञबाट आर्जित दानबाट कयौं संघ÷संस्थाले सामाजिक कृत्यहरु सम्पन्न गरे । यो परम्परालाई अहिले पनि केही पण्डितहरुले पच्छ्याइरहेका छन् । खोज्दै जाने हो भने, विभिन्न धर्मका गुरुहरुले विपद् र अप्ठेरो परेको बेला गरेका सत्कार्यहरु बग्रेल्ति भेटिन्छन् । सत्कार्य गर्नेहरु पूज्य छन् ।
तर, सबैलाई एउटै डालोमा राख्दा चाहिँ गलत हुन्छ । धर्मगुरु र मठाधीशहरु बलियो हुँदा के हुन्छ ? इतिहास खोतल्ने हो भने, युरोपका चर्च र पादरीहरुदेखि,इस्लामिक राष्ट्रका मौलाना र भारकै धर्मगुरुहरुको भूमिकाबाट उत्तर प्राप्त हुन्छ । बलात्कार र हत्या,प्राकृतिक स्रोतमाथि कब्जा,राज्यको कानूनी व्यवस्थालाई चुनौती एवं जातीय र धार्मिक दंगा भड्काउने काम पनि धर्मगुरुबाट भएका छन् । ती कार्यलाई कदापि राम्रो मान्न सकिँदैन ।
धेरैलाई थाहा छ,योगगुरुको परिचय बनाएका बाबा रामदेव व्यापार गर्छन् । अनि यो पनि थाहा छ, उनी हिन्दुवादी पार्टीको छवि बनाएको भारतीय जनता पार्टी ( भाजपा) निकट छन् । आरोप छ, पतञ्जलिको नाममा दिइने विज्ञापनको छेकोमा उनी भाजपालाई लाभ हुने समाचारहरु प्रशारण÷प्रकाशन गर्न लगाउँछन् । त्यस्तो नगर्नेहरुलाई पतञ्जलिले पुछ्दैन ! धर्म र व्यापारलाई सँगै लैजानसक्नु उनको खुवि हो । योगको प्रचार र साधनालाई अन्यथा हैन तर राजनीतिमा धर्म र व्यापारको अन्तरघुलनबारे भने बहस गर्न सकिन्छ÷हुनुपर्छ ।
नेपालमा पनि पछिल्लो समय धार्मिक अन्धता र वैमनश्यता बढ्दै गएको छ । यसको पछाडि व्यक्तिको महत्वकांक्षा तथा राज्यले अमुक धार्मिक संस्थालाई प्रदान गरेको सहुलियतलाई पनि कारक मानिएको छ । धर्मकै नाममा राजनीति गर्नेहरु जुर्मुराएका छन् । ठूला पार्टीका नेताहरु धर्मगुरुकहाँ आशिर्वाद माग्ने उपक्रम बढ्नुलाई व्यक्तिको रोजाइ मान्न सकिएला तर त्यसले पार्ने प्रभावप्रति भने राजनीतिक नेतृत्व सचेत हुनुपर्छ । कम्तिमा राज्यले धर्मनिरपेक्षताको मर्ममाथि प्रहार गर्न हुँदैन ।
धर्म निरपेक्षता भनेको आस्था अनुसारको कर्ममा निषेध नभएर धर्म र आस्थाको विषयमा राज्य तटस्थ बस्नुपर्छ भन्ने हो । तर, उल्टो भइरहेको छ । धर्मगुरुबाट आशिर्वाद थाप्ने,उनीहरुबाट मुखबाट आफ्नो सामथ्र्यको गुणगान सुन्ने होडबाजी चर्को बनेको छ । शक्तिपीठ धाउने,धर्मलाई भँजाउन उद्यत राजनीतिज्ञकै कारण धर्मगुरुहरु शक्तिशाली बन्ने उपक्रम बढेर गएको छ । यसले सामाजिक र धार्मिक सहिष्णुता खल्बलिने तथा स्वयं राजनीतिज्ञहरु नै कमजोर हुने उपक्रम सुरु भएको छ ।
धर्मको नाममा राज्यका कानूनलाई नै चुनौती दिने,प्राकृतिक स्रोतमाथि कब्जा जमाउने तथा नागरिकको आस्थालाई भँजाएर नाजायज फाइदा लिन खोज्ने प्रवृत्तिमाथि अंकुश लगाउनैपर्छ । धार्मिक संस्था र धर्मगुरुलाई पुल्पुल्याउँदा निम्तने अनिष्ट डरलाग्दो हुन्छ । भारतकै केही धर्मगुरुहरुले गरेका ज्यादति तथा कुमर्मबाट पनि नेपालले पाठ सिक्नुपर्छ । राजनीतिक संस्थालाई बलियो बनाउँदै धार्मिक सस्था र धर्मगुरुहरुलाई पुल्पुल्याउन छाड्नुपर्छ ।
