प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन भत्काउँदै नयाँ गठबन्धन निर्माण गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गएको पुस १० गते सत्तामा पु¥याउने नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टीसहितको गठबन्धन बनाएसँगै नेपाली कांग्रेस सत्ताबाट बाहिरिन बाध्य भएको छ । सोमबार नै नयाँ गबठन्धनकोतर्फबाट एमाले प्रमुख सचेत पदम गिरी,माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याल (डिपी) ले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष शपथ लिएका छन् ।
कांंग्रेससँग गठबन्धन गरेरै चुनाव लडेका र देशलाई स्थायित्व दिने वाचा गरेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्नेबेला नै कांंग्रेसलाई धोका दिइसकेका थिए । तर, कांग्रेस सम्हालियो । गएको पुस २६ गते कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दियो । त्यसबाट पग्लिएका प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाए फागुन १५ गते एमाले सत्ताबाट बाहिरियो । सत्ताबाट बाहिरिएको एक वर्षपछि एमाले पुनः सत्तामा फर्केको छ । राजनीतिक रुपले हेर्दा प्रमुख प्रतिपक्ष सफल बनेको छ भने ठूलो दल भएर पनि कांग्रेस अभागी देखिएको छ । सत्ता गठबन्धनको बाछिटाहरु प्रदेशसम्म पनि आइपुग्दा प्रदेश सरकारहरुमा पनि प्रतिपक्षको बेञ्चमा बस्ने निश्चित भएको छ ।
संसदीय राजनीतिमा गबठन्धन बन्नु र भत्कनु स्वभाविक हो । एउटै दलको पूर्ण बहुमत सम्भव नहुने हाम्रो संवैधानिक व्यवस्थाकै कारण सहकार्य अपरिहार्य रहेको छ । तर, त्यो सहकार्यमा धोकाधडी र षड्यन्त्र हुनुहँदैन । प्रधानमन्त्री प्रचण्डले एक वर्षभित्र नै तीनपटक सहमति बनाउने र तोड्ने काम गरेका छन् । पछिल्लो गठबन्धनलाई उनले वामशक्तिबीचको एकताको रुपमा अथ्र्याएका छन् । वामशक्तिबीच एकता हुनु राम्रो हो । तर, हिजो एमाले र माओवादीबीच एकता भएर बनेको नेकपाको विघटनको परिदृष्य सम्झने हो भने,प्रचण्डको कुरा पत्याइहाल्नुपर्ने देखिँदैन । माओवादी–कांग्रेस गबठन्धन किन तोडियो र एमालेसँग कसरी सम्बन्ध सुमुधुर भयो भन्ने विषय समयक्रममा प्रष्ट हुँदै जाला ।
तर,अहिले बजारमा विदेशी शक्ति र खासगरी चीनका कारण नयाँ गबठन्धन बनेको हल्ला चलेको छ । एउटा छिमेकीको कारण गठबन्धन बनेको हो भने त्यसले अर्को छिमेकीलाई चिढ्याउने सम्भावना रहन्छ । देश शक्तिराष्ट्रहरुको खेल मैदान बन्नसक्छ । प्रचण्डले यो कुरा ख्याल गर्नुपर्छ । मुलुक यतिबेला आर्थिक रुपले संकटमा छ । युवा पलायन बढ्दो छ । भ्रष्टाचार झांगिएको छ । यी यावत् समस्याको समाधान सहमति र सहकार्यले मात्र सम्भव छ । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा गतिलो काम गर्छु भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका छन् । नयाँ गठबन्धनलाई आफ्नो अभिव्यक्ति सार्थक बनाउन प्रयोग गर्न सक्नुपर्छ । सत्ता उलटफेरलाई प्रचण्डको अस्थिर र अविश्वसनीय चरित्रको परिणाम भनिएको छ । त्यो आरोपलाई मिथ्या सावित गर्दामात्र उनको आफ्नो कद बढ्छ भन्ने बुझ्नुपर्छ ।
