बागलुङको जैमिनी नगरपालिका-१० राङखानीका निर्मल श्रीसले जीविकोपार्जनका लागि वैदेशिक रोजगारको बाटो मोडेर कुश्मीसेरा बजारमा वर्कसप चलाएर सुखी जीवन बाँचेका छन् । उनले मिनीटेलर हलो बिक्रीसंगै मोटरसाइकलको मर्मत पनि गर्छन् । दक्षिण बागलुङको व्यापारिकक्षेत्र सेराबजारमा उनको व्यवसाय गज्जबले जमेको छ । सिप विकास तालिम केन्द्रबाट मोटरसाइकलसंगै मिनीटेलर हलो मर्मत सम्बन्धित तालिम लिएपछि व्यवसाय शुरु गरेका श्रीसले आफुसंगै थप एक भारतिय नागरिकलाई रोजगारीसमेत दिएका छन् ।
वर्कसपमा काम गर्ने नेपाली युवा पाउनै मुश्किल भएपछि उनले भारतियलाई काममा लगाएका हुन् । पछिल्लो समय ग्रामिण क्षेत्रमा सडक सञ्जाल जोडिएपछि सानाठुला ग्यारेज संचालन गरेर आत्मसम्मानको जीवनयापन गर्न सकिन्छ । तर गाउँघरका युवामा भने त्यसप्रति कुनै चासो छैन । सडक विस्तारसंगै खुलेका मर्मत केन्द्रहरुमा काम गरेर भारतिय कामदारले मनग्य आम्दानी गर्न सफल भएका छन् । ग्यारेजको आम्दानीबाट उनीहरुले घरघडेरी जोडेका समाचारहरु हामीले पढ्दै आएका छौ ।
निशुल्क रुपमा उपलब्ध हुने तालिमबाट स्वरोजगार बन्ने अवसर गाउँघरमै भएपनि हाम्रा युवाले बेवास्ता गर्नु बिडम्वनापूर्ण छ । गाडी मर्मत गर्ने ग्यारेजदेखि निर्माणको क्षेत्रमा पनि भारतिय कामदारको मोनोपोली जस्तै छ । यसले नेपालीहरुको आयस्तर घट्ने र नेपली श्रमबजारबाट भारतीयले पैसा लगिरहने क्रम चलेको छ । अनुमानित तथ्यांक अनुसार बागलुङमा मात्रै ५ हजार भारतीय श्रमिकले काम गरेको देखिन्छ ।
सीप सिक्न र दिगो रुपमा काम गर्न नेपाली श्रमिक तयार नहुँदा भारतिय कामदारको दबदबा हुनु स्वभाविक हो । अटो मोबाइलको क्षेत्रमा काम गर्ने दक्ष प्राविधिक मासिक ५० हजारसम्म तलब लिने गरेको संचालकहरु बताउँछन् । आर्कषक स्वदेशमै आम्दानी गर्न सकिनेबारे कतिपय युवा अनभिज्ञ हुँदा यसतर्फ अरुची पनि जागेको हुन सक्छ । स्थानीय सरकारले यस्ता काममा दक्ष बनाउन तालिम र आम्दानीको बारेमा जानकारी गराउन सके युवा स्वदेशमै रोकिने छन्भने करोडौं रकम स्वदेशमै रहनेछ । त्यसका लागि नेपाली कामदारको श्रम सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले गर्नुपर्छ ।
कामलाई उचनिचको दृष्टिकोणले हेर्दा नेपाली युवा वेरोजगार हुनु प्रमुख कारण हो । श्रमलाई सम्मान गर्न सके मनग्य आम्दानीसंगै स्वदेशमा सम्मानपूर्ण जीवनयापन गर्न सक्ने धेरै आधार छन् । दैनिक सयौं युवायुवतीहरु कामको खोजीमा विदेश भाँसिदा तीमध्ये कति त मृत्युवरण गरेर बाकसभित्र नेपाल फर्किनुपरेको धेरै उदाहरण छन् । तर विदेशमा जस्तै कामको सम्मान, मेहनत र धैर्य गरे स्वदेशमै पनि मासिक लाखौं आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएकालाई प्रेरणाको रुपमा लिन जरुरी छ ।
भारतिय कामदारको बढ्दो संख्याले नेपाली कामदार काममा मेहेनत गर्दैनन् भन्ने भाष्य निर्माण भएको छ । यस्तो भाष्य चिर्न नेपाली कामदारले कामप्रति सम्मान गर्नुपर्छ । सानो कामबाट राम्रो आम्दानी हुने थुप्रै क्षेत्रहरु छन् । त्यसतर्फ युवाहरु प्रेरित गर्न स्थानीय सरकारले प्राविधिक सीप सिकाउने योजना ल्याउनुपर्छ । बागलुङको ताराखोलाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको थालनी गरिसकेको छ । अरु पालिकाले पनि छिट्टै सिके युवा पलायन रोक्न संभव छ ।
