पोखरा महानगरपालिकाले ३५ प्रकारका कृषिजन्य उत्पादनको समर्थन मूल्य तोकेको छ । कथंकदाचित् समर्थन मूल्यभन्दा कममा उत्पादन बेच्नुपर्ने अवस्था आउँदा ती उत्पादन महानगरले नै किन्ने वा किसानलाई समर्थन मूल्य प्रदान गर्ने महानगरको नीति रहेको छ । किसानको मिहिनेत खेर नजाओस् र कम्तिमा उनीहरुले लागत अनुरुपको न्यूनतम् मूल्य पाऊन् भन्ने ध्येयबाट यो निर्णय प्रेरित छ ।
यही उपक्रममा पोखरा महानगरपालिकाले नोक्सानी व्यहोरेका १६ वटा कृषि फर्मबाट उत्पादित ९५ हजार केजी कृषि उपजको लागि २६ लाख ७९ हजार ७६१ रुपैयाँ भुक्तानी गरेको छ । यसरी भुक्तानी पाउनेमा च्याउ उत्पादकहरु बढी देखिएका छन् । बजारको मागभन्दा बढी उत्पादन हुँदा,भारत वा वाहिरबाट आयातित च्याउसँग प्रतिस्पर्धा गर्दा किसानहरुले भनेजस्तो मूल्य पाउन सकेनन् । जसले गर्दा व्यावसायिक रुपले ठूला कृषि फर्म चलाएका किसानहरु मर्कामा परे ।
त्यसो त, कोदो,गोलभेंडा,सिमीले पनि बजारमा प्रतिस्पर्धाा गर्न सकेन । किसानलाई समर्थन मूल्य प्रदान गरेर पोखरा महानगरले सह्रानीय कार्य गरेको छ । राम्रो मुनाफा नपाए पनि ठूलो घाटा व्यहोर्नबाट किसानलाई जोगाएको छ । । संसारभरका किसानहरु आन्दोलित बनेको बेला पोखराले जे गरेको छ, त्यसले आशा जगाएको छ ।
पोखरा महानगरले पछिल्ला दिनहरुमा कृषिको व्यावसायिकरण एवं बजारीकरणको लागि गरेका कृत्यहरु प्रशंसनीय मात्र नभएर अनुकरणीय पनि देखिएका छन् । बाख्रापालक किसानलाई प्रोत्साहनदेखि माहुरीपालक किसानलाई घार,कृषि औजारमा अनुदान,कृषि एम्बुलेन्सको संचालन, बीऊ र मलको प्रबन्ध, प्राविधिक सेवा,जेठोबुढो धानको प्रवद्र्धनजस्ता कार्यहरुले सकारात्मक परिणाम दिएका छन् । जसले गर्दा कृषिकर्ममा लाग्नेहरुलाई उत्साहित बनाएको छ भने थोरै भए पनि आयात प्रतिस्थापन एवं रोजगारी सिर्जना भएको छ ।
महानगरले यी रचनात्मक कार्यलाई निरन्तता दिनुपर्छ । सो भनिरहँदा,अनुदानको सही सदुपयोग एवं वास्तविक किसानले नै प्राप्त गर्ने अवस्थाबारे उत्तिकै सचेत हुनुपर्छ । उत्पादनमा आधारित भएर अनुदान प्रदान गरियो भने त्यसले रोजगारी सिर्जना र आयात प्रतिस्थापन दुवैमा सघाउँछ भन्नेप्रति विशेष ध्यान दिनैपर्छ । महानगर भनिए पनि पोखरामा अझै पनि कृषिमा आश्रित परिवारको संख्या ठूलो छ । कृषिमा लागत बढी हुँदा, उत्पादनले बजार तथा भनेको बेला प्रावधिक सेवा नपाउँदा कृषिकर्मप्रतिको आकर्षण घट्दै गएको छ । खेतबारी बाँझो राख्ने प्रवृत्ति बढेको छ । बाँदर आतंक पनि उस्तै छ ।
यी यावत् समस्याको संवोधन गर्दै कृषिलाई सवैभन्दा सम्मानित र नाफादायक पेशा बनाउन सकेमामात्र हाम्रो अर्थतन्त्र उकासिन्छ । यसको लागि किसानलाई व्यावसायिक बनाउनै पर्छ । न्यूनतम् हैन, अधिकतम् लाभ लिने परिस्थिति सिर्जना गराउनुपर्छ । कृषिलाई सम्मानित र सुरक्षित र लाभदायक पेशा तुल्याउनुपर्छ । महानगरले अहिले गरेका सार्थक प्रयासहरुलाई निरन्तता दिँदै अझ किसानमैत्री नीति अंगिकार गर्नुपर्छ ।
