बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दीर्घरोगको पञ्जाबाट बचौँ

दीर्घरोगको पञ्जाबाट बचौँ


  • Dhorpatan News
  • फाल्गुन २८ २०८०, सोमबार

एउटा मान्छेलाई प्रतिदिन २ हजार ६ सय किलोग्राम क्यालोरी अर्थात् शक्ति आवश्यक हुने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि सबै नेपालीहरुको हकमा त्यो प्राप्ति कठीन भएको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । अहिले पनि पेटभर खान नपाउने नेपालीको संख्या ठूलै छ । भोकमरीले छाडेको छैन । तर,पछिल्लो समय सहरी क्षेत्रमा आवश्कताभन्दा बढी भोजन गर्ने प्रवृत्ति पनि उत्तिकै बढेको छ । उपभोक्तावादी संस्कृतिले अधिकांश सहरीयाहरुलाई प्लाष्टिकमा प्याक गरिएका खानेकुरा खाने बनाएको छ । गाउँगाउँमा बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ पुग्न थालेका छन् । ती पेय पदार्थले परम्परागत पेय पदार्थहरु जस्तै मही, दहीलाई विस्थापित गरिदिएका छन् ।

शारीरिक श्रम गर्ने प्रवृत्तिमा ह्रास आइरहेको छ । गिठ्ठा,भ्याकुर, कन्दमूल तथा रैथाने उत्पादन उपभोगको श्रृंखला टुटेको छ । र, यसको सोझो प्रभाव मानवीय स्वास्थ्यमा देखिएको छ । नेपालमा वर्षेनी सर्नेभन्दा नसर्ने रोगहरुबाट मर्नेहरुको संख्या बढ्दै गएको छ । गण्डकीकै कुरा गर्ने हो भने, आर्थिक वर्ष २०७९÷०८० मा २ लाख ४० हजार १६६ जना व्यक्ति नसर्ने रोगको उपचार गर्न अस्पताल पुगेको तथ्याङ्क रहेको छ । विज्ञहरुका अनुसार नसर्ने रोगको प्रकोप तथ्याङ्कमा उल्लेखित संख्याभन्दा धेरै माथि र बढ्दो क्रममा रहेको छ । मृगौलाको डायलासिसको लागि पालो पर्खनुपर्ने अवस्थाबाट पनि त्यसको पुष्टि हुने चिकित्सकहरुको भनाइलाई अस्वीकार गर्नुपर्ने कारण पनि देखिँदैन । मधुमेह, मुटु, क्यान्सर,कलेजो,मृगौला,रक्त तथा श्वासप्रश्वासका कारण हुने दीर्घरोगीहरुको संख्या बढोत्तरी हुनुमा खराब आहार–विहार जिम्मेवार रहेको विज्ञहरुले औंल्याएका छन् ।

रोग लाग्नुका धेरै कारण हुन्छन् । वातावरणीय प्रदूषणलगायतका बाह्य कारणभन्दा पनि नसर्ने रोग फैलनुको मुख्य कारण भनेको व्यक्ति स्वयंको अनियन्त्रित इच्छा नै मुख्य कारकको रुपमा देखिएको छ । स्वस्थकर भोजन नगर्नु,समय व्यवस्थापन नहुनु,मध्यपान र धूमपान,व्यायाम नगर्दा रोग बढ्दै गएको हो । खानपान शरीर स्वस्थ राख्नको लागि पहिलो सर्त हो । ताजा खाने, फलफूल र मौषम अनुसारका सागसब्जीको उपभोग,राम्रो निद्रा र शारीरिक व्यायामबाट स्वस्थ भइन्छ । शरीर आफैँमा मेसिन हो । यसले आफूलाई के आवश्यक पर्छ भन्ने आफैं बुझ्छ । अगतिलो खाना खाएको भोलिपल्ट शौच बस्दा नै ‘तैंले गलत गरिस् है’ भन्दै सन्देश प्रवाह गर्छ । अनिन्द्रा हुँदाको भोलिपल्ट पनि उस्तै चेतावनी दिन्छ । जब मान्छेले त्यो चेतावनीलाई वास्ता गर्दैन, तब रोगले शरीर प्रवेशको मौका पाउँछ । मान्छे अवस्थ बन्छ । नसर्ने दीर्घरोगले कार्यक्षमता घटाउँदै ज्यानमात्र लिँदैन, धनको पनि नाश गराउँछ । अतः दीर्घरोगको पञ्जाबाट मुक्ति चाहने हो भने आहार–विहारप्रति संवेदनशील हुनैपर्छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->