बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटकीय राजधानी : घोषणाको सार्थकता पुष्टि होस्

पर्यटकीय राजधानी : घोषणाको सार्थकता पुष्टि होस्


  • Dhorpatan News
  • चैत्र ५ २०८०, सोमबार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले राजधानी घोषणा गरेपछि राजधानीले स्वतः वैधानिकता प्राप्त गरेको छ भने प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको लामो पहलले सार्थकता पाएको छ । पोखरालाई राजधानी भनिए पनि यो घोषणाले समग्र गण्डकी प्रदेशलाई समेट्ने मेयर धनराज आचार्यले बताएका छन् । त्यसो त, वरपरका पालिकाहरुले पनि घोषणाको स्वामित्व ग्रहण गरेका छन् । घोषणा हतारमा गरिए पनि अब पर्यटन उद्योगको विकासको लागि अल्पकालीन र दीर्घकालीन योजनासहित काम गरिने उनको भनाइ छ । पोखरा आफैंमा देशको सुन्दर पर्यटकीय गन्तव्य भएकोमा कुनै द्धिविधा छैन । आन्तरिकमात्र नभएर बाह्य पर्यटकको पहिलो रोजाइको यो सहरलाई प्रकृतिबाट अनुपम उपहार प्राप्त छ । समुद्र सतहबाट ८ सय मिटरको उचाइमा रहेको पोखराबाट नाङ्गो आँखाले हिमाल चियाउन सकिन्छ । यहाँका तालतलैया र भू–बनोटले पनि मान्छेलाई लोभ्याउँछ । पोखराको पर्यटनको दायरा फराकिलो हुँदै गएको छ । मनाङ–मुस्ताङ, बागलुङ र पर्वतसम्म पर्यटन उद्योगमा लगानी थपिँदै गएको छ । पर्यटन उद्योगमा निजी क्षेत्रबाट अरबौंको लगानी भएको छ । दैनिक ५० हजारभन्दा बढी पर्यटकलाई पोखरा एक्लैले एक रात सुताउने हैसियत राख्छ । यहाँका रेष्टुराँहरुमा संसारका सबैजसो देशको खाना पाक्छ । पदयात्रा तथा अन्य साहसिक पर्यटनको लागि पनि गण्डकी प्रख्यात छ । ८ हजारभन्दा अग्ला हिमालको सफल आरोहणको इतिहास कोरेको गण्डकीमा आरोहणको पर्यटनको उत्तिकै सम्भावना छ । यी यावत् सम्भावनाहरुलाई पर्यटकी राजधानी घोषणापछि अझ उपयोग गरिनुपर्छ । थप पर्यटक तान्ने र बसाइ लम्ब्याउनेतर्फ पनि ध्यान दिनुपर्छ ।
नेपालको पर्यटन उद्योगले कुल ग्राहस्थ उत्पादनमा करिब ९ प्रतिशतको योगदान दिएको अनुमान छ । पोखराको पर्यटनले अर्थतन्त्रमा कति योगदान गर्छ भन्ने ठ्याक्कै भन्न सकिँदैन । वर्षेनी यहाँ कति पर्यटक आउँछन् भन्ने यकिन पनि छैन । तर,यो उद्योगले अर्थतन्त्रमा राम्रै योगदान दिएको अनि र ठूलो जनशक्तिलाई रोजगारी दिएकोमा कुनै द्धिविधा छैन । ठूला उद्योगहरुको सम्भावना नभएको हाम्रो देशको सबैभन्दा लाभ लिन सकिने क्षेत्र भनेकै पर्यटन हो । पर्यटन उद्योग फस्टाउन धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षित गर्न सक्नुपर्छ । उनीहरुको बसाइ लम्ब्याउने कार्यक्रम ल्याउनुपर्छ । तर, दुःखका साथ भन्नुपर्छ, अहिले नेपाल आउने पर्यटकको बसाइ घट्दै गएको छ । पोखरामा एउटा पर्यटकले औषत साढे २ दिन बिताउने र दैनिक ५७ अमेरिकी डलर खर्च गर्ने अनुमान छ । त्यसलाई बढाउनको लागि पदयात्रा मार्गको बिस्तार, पर्यटक भुलाउने भौतिक निर्माण एवं सेवा र सुविधामा बढोत्तरी जरुरी छ । पर्यटकीय राजधानी घोषणाले सो दिशामा काम होस् । भएका प्राकृतिक सम्पदाको संरक्षण र वातावरणमैत्री पर्यटनको लागि गुरुयोजनासहित काम थालियोस् । पोखरामा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चिता, विदेशमा नेपालको प्रचार पनि होस् । त्यसो भएमामात्र घोषणाको सार्थकता रहन्छ । घोषणालाई घोषणामै सीमित नगरियोस् । समग्र गण्डकी र सीमान्तकृतले पर्यटनबाट लाभ लिने अवस्था सिर्जना गरियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->