छोरीहरूको संरक्षण, उनीहरुमाथि गरिने विभेदको अन्त्य, बाल बिवाहको उन्मुलनसहित छोरीलाई शिक्षित र स्वावलम्वन बनाउने उद्देश्यसहित बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक समुन्तका लागि आर्थिक बर्ष २०८०/८१ मा सामाजिक विकास तथा समावेशीकरण कार्यक्रमअन्तर्गत घोषणा गरिएको कार्यक्रम कार्यान्वयनमा आएको हो । हाम्रो समाजमा छोरी जन्मिएपछि आमा र नवजात शिशुलाई गरिने दुव्र्यवहार, गर्भाअवस्थामा भ्रुणको जाँच, भ्रुणहत्या र छोरी प्रतिको गलत दृष्टीकोणलाई चिर्न समेत ‘नगरकी छोरी’ कार्यक्रम सफल हुनेमा नगरपालिका विश्वस्त छ । जन्मिएको छोरी ६५ बर्ष पुगी जेष्ठ नागरिक हुँदाको अवस्थामा उक्त कोषको रकम गुणात्मक बृद्धी भै चार करोडभन्दा बढी सञ्चित हुनेगरी ‘नगरकी छोरी’ कार्यक्रमलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ ।
ढिलैगरी भएपनि नीति कार्यक्रममार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वयनमा आएको छ । बागलुङ नगरपालिका वडा नं. २ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले यसको सुरुवात गरिएको छ । २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट पाँच हजार रूपैयाँ २० वर्षको लागि मुद्दती खातामा जम्मा गरिने छ । सो खातामा संभव हुने अभिभावकहरुले समेत रकम थप गर्न पाउने छन् । पालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रुपमा उच्चतम् ब्याज प्राप्त हुने र खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि बनाएको छ । नगरपालिको छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावकलाई प्रेरित गरेको छ । रुढीबादले गाँजेको समाजमा छोरी जन्मिएपछि आमा र शिशुलाई गरिने दुव्र्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भ्रुणहत्या र छोरीप्रतिको गलत सोचलाई चिर्न ‘नगरकी छोरी’ कार्यक्रमलाई सफल बनाउनु हामी सबैको दायित्व हो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार छोराभन्दा छोरीको संख्या घट्दै गएको छ । छोराछोरीबीच हुने विभेदको कारण पुरुषको संख्या बढ्दै जानुमा दुईमत रहेन । छोरा नभई नहुने, छोरी चाहिँ नभए पनि हुने पुरुषप्रधान सोच समाजमा अझै व्याप्त छ । लिंग पहिचान गरेर गर्भपतन गराउने प्रचलन पछि व्याप्त छ । सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिँदा दुरुपयोग धेर भएको छ । छोराछोरीको संख्यामा लैंगिक अनुपात फरक आउनु भविष्यका लागि खतराको सूचक हो । यसले समाजमा पार्ने असरबारे गम्भीर चिन्ता गर्नुपर्ने बेला आएको छ । लैंगिक असमानताले समाजमा पर्ने असर वा समाजलाई कहाँ पु¥याउँछ भनेर गम्भीर चिन्ता गर्न अब ढिला गर्नु हुँदैन । नारी सम्मानका लागि बागलुङ नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘नगरकी छोरी’ सबैका लागि प्रेरणा बन्नुपर्छ । नगरपालिकाले शुरु गरेको कार्यक्रमलाई सफल बनाउनको लागि नगरवासीको साझा दायित्व बन्नुपर्छ । सस्तो लोकप्रियताका लागि कार्यक्रम थालनी गर्ने तर कार्यान्वयन पक्षलाई बेवास्ता गर्दा नारामै सिमित भएका थुप्रै उदाहरणहरु हामीसामु छन् । नगरको यो कार्यक्रम छोरीहरुलाई सामथ्र्यवान बनाउन कोसेढुंगा सावित हुन सक्छ । त्यसैले नगरले शुरु गरेको ‘नगरकी छोरी’लाई सार्थक बनाउन हामी सबैले हातेमालो गर्नुको विकल्प छैन ।
