बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नानीबाबुको फुर्सदमा उनीहरुजस्तै बनौँ

नानीबाबुको फुर्सदमा उनीहरुजस्तै बनौँ


  • Dhorpatan News
  • चैत्र २७ २०८०, मंगलबार

नानीबाबुहरुको शैक्षिक सत्र सकिएको छ । किताबको भारी बोक्नबाट मुक्ति मिल्दा उनीहरु पक्कै हर्षित छन् । अर्को कक्षा उक्लने उमङ्गले उनीहरु पुलकित पनि होलान् । केहीले नयाँ कक्षाको तयारी पनि थाले होलान् । जिम्मेवार अभिभावकहरुले फुर्सदिला नानीबाबुहरुलाई बिदाको भरपुर गर्न सिकाए पनि होलान् । कतिपय चाहिँ कक्षा छैन, गृहकार्य पनि छैन भन्दै मोवाइलबाट आँखै नहटाउने अवस्थामा पनि होलान् ! भला, त्यो कुरा सबै नानीबाबुको हकमा लागू नहुन सक्छ । किनकि, सीमान्तकृत र दूरदराजमा रहेका नानीबाबुहरुलाई यो बेला आमाबुबालाई सघाउने जिम्मेवारी पनि आइपरेको होला । उनका अभिभावकलाई यही ज्याला–मजदूरी गरेर नयाँ कपडा,किताब–कापी र स्कूलको शुल्क जुटाउने दायित्व पनि होला ।

शिक्षालाई मौलिक अधिकारको रुपमा ब्याख्या गरिए पनि सरकारी विद्यालयले समेत यो वा त्यो बहानामा शुल्क लिइरहेको तीतो यथार्थले सिर्जित अभिभावकको सो समस्या सल्ट्याउन आमाबुबालाई सघाउने बालबालिकाहरु महान हुन् । उनीहरुको जति प्रशंसा गरे पनि कम हुन्छ । उनीहरुले बाध्यताले श्रम संस्कृति सिकेका छन्, दुःख के हो भन्ने बुझेका छन् । तर, त्यसो भन्दैमा उनीहरुलाई त्यही नियतिमा राख्नुपर्छ भन्ने हैन । त्यसबाट मुक्ति दिनुपर्छ । पैसाको अभाव,घरमा छाक टार्न नसक्ने अवस्थाले निम्त्याएको विषमता तथा स्कूलको शुल्क तिर्न नसक्दाको लाजबाट स्कूल छाड्ने अवस्थाको अन्त्य होस् । विद्यालय र व्यवस्थापन समितिले त्यस्तो प्रतिकूलताको अध्ययन गरुन् र शिक्षा लिनबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य होस्. ।

अर्कोंतर्फ, हुनेखाने वर्गका नानीबाबुहरुले यो बिदाको भरपुर सदुपयोग गर्न पाऊन् । उनीहरु गाईको दूध कहाँबाट आउँछ भन्ने प्रश्नको उत्तरमा ‘पसलबाट’ उत्तर दिने खालका नबनूनन् । बिदाको सदुपयोग गर्दै उनीहरुलाई नयाँ कुरा सिक्न, जीवन–दर्शन,अभाव–गरिबी,संघर्ष र धैर्यता सिक्ने वातावरण बनाइयोस् । किताबी ज्ञानका अलावा उनीहरुले माया–ममता, सामाजिक व्यवस्थाबारे पनि बझून् । व्यस्त अभिभावकहरुले यो कुरामा ध्यान दिनैपर्छ । नानीबाबुको बिदालाई सही सदुपयोग गराउन अभिभावकको दायित्व बढी हुन्छ । अतः यो बेला अभिभावकले फुसर्द निकाल्नु बेश हुन्छ । घुम्ने, घुमाउने काम पनि गर्न सकिन्छ । कसै सकिएन भने पुस्तकालय जाने बानी बसाल्ने, चित्रकला, मूर्तिकला, पौडीलगायतका खेल कौशल सिकाउने व्यवस्था मिलाउँदा पनि हुन्छ । कम्तिमा फुर्सदमा रहेका नानीबाबुलाई मोवाइलको किरो बनाउने काम चाहिँ नगरौँ । सक्छौँ, आफैंले समय दिऊँ, नसके व्यवस्था गरौँ । नानीबाबुप्रतिको दायित्व निभाऔं । बरबादी हुनबाट बचाउने र असल मार्गमा लगाउने यस्तै कृत्यले हो भन्ने मनन गरौँ । जान्ने–सुन्ने बन्ने हैन कि उनीहरुजस्तै बनेर बालसुलभ मनोविज्ञानसँग एकाकार होऊँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->