बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विक्रमाब्द २०८१ मा नूतन सम्भावनाको खोजी होस्

विक्रमाब्द २०८१ मा नूतन सम्भावनाको खोजी होस्


  • Dhorpatan News
  • बैशाख २ २०८१, आइतबार

विक्रमाब्द २०८० को बिदाइ र २०८१ को स्वागत गरिएको छ । पात्रो फेरिनुलाई स्वभाविक गति मान्नु एउटा कुरा, देशले नै मानेको नयाँवर्षलाई हर्षोल्लासका साथ स्वागत गर्नु अर्को कुरा हो । सानो हिमाली गणराज्य नेपालले मान्दै आएको विक्रम सम्वत्को आफ्नै इतिहास र महत्व छ । विक्रमादित्यले सुरु गराएको यो संवत्सँग सौर्यमानका गणनाहरु जोडिन्छन् । नयाँवर्ष वासन्तीय पर्व पर्वको अर्को रुप पनि हो । बोटविरुवामा नयाँ पालुवा पलाउनु,चराचुरुङ्गीले मीठो गीतसँगै घरजम अनि गुँड बनाउने समय पनि यही हो । वसन्त ऋण्तु उल्लास र उमङ्ग अनि नयाँ सम्भावनाहरु बोकेर आउँछ । र, नेपालीहरुले मनाउने यो नयाँवर्ष पनि नूतन सम्भावनाको खोजी गर्ने पर्व हो । वैशाखको यही महत्वलाई राष्ट्रकवि माधव घिमिरेले यसरी अभिव्यक्त गरेका छन्–
‘आई कैल्यै नसकिने चैत वैशाखअ मेरो,
लाई कैल्यै नसकिने प्रीत नौलाख मेरो ।

नूतन सम्भावनाको खोजी गरिरहँदा पुराना दिनहरुको समीक्षा जरुरी हुन्छ । जीवनको लहरो हिजोसँग जोडिएको हुन्छ र हिजोलाई छुट्याएर आज वा भोलिको यात्रा नाप्न सकिँदैन । हिजोसँगको सम्बन्ध व्यक्तिभन्दा राज्यको जीवनमा अझ गाँजिएको हुन्छ । बितेको वर्ष नेपालीहरुको लागि खासै उत्साहप्रद भएन । आम निर्वाचनपछि जनताले देशमा केही सुध्रिन्छ कि भन्ने जुन आशा पालेका थिए, त्यो मृगतृष्णा नै बन्यो । अर्थतन्त्रका सूचकहरु बिग्रिए, भष्टाचार र कुशासनका फेहरिस्तहरु थपिँदै गए । सरकारले भ्रष्टाचारविरुद्ध ठूलो स्वर मच्चाउँदै अभियान त थाल्यो तर एकपछि अर्का उच्च तहका नेता डामिन थालेपछि त्यो अभियान बीचमै तुहियो । सत्ता भागबण्डाको बबण्डरले बितेको वर्ष पनि छाडेन । विदेशिने नागरिकको लर्को एकातिर थियो भने इजराइलमा अनाहकमा नेपाली मारिँदा झन पीडा भयो । अर्थतन्त्रका सूचकहरु सकारात्मक होलान्, राजनीतिक नेतृत्वको बुद्धि फिर्ला र देशमा कानूनी शासनको प्रत्याभूति होला भन्ने मृगमरिचिकाकै बीच अघिल्लो वर्षलाई बिदाई गरियो ।

नागरिकहरु सशस्त्र द्वन्द्वका बेलामा पनि सायद यति धेरै निराश थिएनन् होला । अहिले जताततै निराशा छाएको छ । व्यापार–व्यवसायमा मन्दी छाएको छ । सहकारीमा खाइनखाइ जनताले जम्मा गरेको पैसा लुटिएको छ । तर, उनीहरुले उन्मुक्ति पाइरहेका छन् । यो देश मुठ्ठीभरका लागिमात्र हो कि भन्ने भान भएको छ । देश बन्दैन भन्ने भाष्य बलियो बन्दै गएको छ । सधैँ यस्तो नहोस् । देशले सही मार्ग अवलम्बन गरोस् । कम्तिमा राजनीतिक नेतृत्व सुध्रियोस् । भ्रष्टाचारीमाथि शून्य सहनशिलता अपनाइयोस् । विधिको शासनको जग बसोस् । तेरो हुनासाथ लाञ्छना र मेरो हुनासाथ उन्मुक्ति दिने परिपाटीको अन्त्य होस् । महंगाइ घटोस्, रोजगारी सिर्जना होस् र देशमै केही गर्छु भन्नेहरुलाई अवसरको कमी नहोस् । हामी हाम्रा पाठक, शुभचिन्तक, विज्ञापनदाता तथा सम्पूर्ण नेपालीहरुमा नयाँवर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->