बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मानव तस्करको सञ्जाल तोड

मानव तस्करको सञ्जाल तोड


  • Dhorpatan News
  • बैशाख ११ २०८१, मंगलबार

वैदेशिक रोजगार विभाग भन्छ– चालु आर्थिक वर्षको चैत मसान्तसम्म करिब साढे सात लाख नेपालीले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिए । चैतको मात्र तथ्याङ्क हेर्ने हो भने, ७९ हजार ९३३ जनाले स्वीकृति लिएका छन् । तीमध्ये ६ हजार ६९२ जना महिला छन् । यो तथ्याङ्कमा भ्रमण भिसा वा अध्ययनको लागि भन्दै विदेशिनेको संख्या समावेश छैन । भारत र त्यसपछि अवैध बाटो हुँदै युरोप र अन्य आकर्षक देशमा जानेहरुको तथ्याङ्क यसमा समेटिने कुरै भएन ।
खाडी र मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तब्य भनेको खाडी र मलेसिया नै हो । तुलतान्मक रुपले बढी आम्दानी हुने दक्षिण कोरिया,इजरायल र जापानमा जानेहरुको संख्या कम छ । त्यहाँ जान सजिलो पनि छैन । पछिल्लो समय खाडी ,मलेसियाजस्ता देशहरुमा जाने क्रममा दलालको फन्दामा परेका घटनाहरु कम सुनिन थालेका छन् । रकम असुलेर दलाल नै फरार हुने घटनामा कमी आए पनि निदान भइसकेको छैन । सुधार चाहिँ भएको छ । तर, त्यो रोग अहिले ठूला भनिने देशहरुमा जान चाहनेहरु ठगिने उपक्रम भने पछिल्लो समयमा अच्चाक्ली बढेको छ । अहिले नेपाली नपुगेको संसारको कुनै देश नै छैन भन्दा हुने भएको छ । कतिसम्म भने,रुस र युक्रेन युद्धमा भाडाका सैनिक बन्न पनि नेपालीहरु पुगेकै छन् । त्यहाँ पुग्ने र मारिनेहरु वैध बाटोबाट गएका हैनन् । उनीहरु दलाललाई मोटो रकम बुझाएर त्यहाँ पुग्ने गरेको घटनाक्रमले पुष्टि गरिसकेको छ । जो पुगे,त्यता नजाऊँ तर जसले अमेरिकाको लोभमा मोटो रकम गुमाए, उनीहरुको पीडा असाध्यै डरलाग्दो छ । लाखौंँ रुपैयाँ लिएर अमेरिका पठाउने गिरोह पनि नेपालमा उत्तिकै सक्रिय छ । लुक्दै÷लुकाउँदै त्यहाँको प्रशासनलाई छल्दै मेक्सिकोको जंगल हुँदै अमेरिका जानको लागि दलाललाई लाखौँ बुझाउनुपर्छ । पुग्ने÷नपुग्ने कुनै ग्यारेण्टी हुँदैन । तर, मान्छेहरु ऋण खोजेर भए पनि मानव तस्करलाई पैसा बुझाइरहेका छन् । घर न घाटका भएका छन् । र,ठग्ने मानव तस्करका एजेण्टहरु आफन्त नै हुने गरेका छन् । मानव तस्करको सञ्जालमा जो कोहीका आफन्त हुन सक्छन् । उनीहरुले विभिन्न प्रलोभन देखाउँछन्, मोटो रकम असुल्छन् र अध्याँरो यात्रामा लाग्न उत्प्रेरित गर्छन् । तर, सबैको हकमा भाग्य दाहिना हुँदैन । कोही बाटैबाट फर्काइन्छन्, कोहीको उतै मृत्यु हुन्छ । कतिको चाहिँ सुरुमै मोटो रकम लिएर दलाल नै फरार बनिदिन्छन् । बागलुङसहित गण्डकीका केही जिल्लाहरुमा अहिले यो उपक्रम ह्वात्तै बढेको छ । पीडितहरु मुख खोलेर बोल्न सक्ने अवस्थामा छैनन् । जसले मुख खोलेका छन्, उनीहरुले पनि न्याय पाउने कानूनी आधार कमजोर देखिएको छ । यस्तो हुनुको पछाडि बढी लोभ, चेतनाको अभाव नै प्रमुख कारण देखिएको छ ।
राज्यले वैदेशिक रोजगारलाई प्रोत्साहित गरिरहेको छ । यसो भन्दैमा श्रम सम्झौता नभएका र अवैध बाटोबाट विदेश जान खोज्नु राम्रो हैन । सकेसम्म विदेश नजाने तर जानै परे पनि वैधानिक बाटो रोज्नुपर्छ । आफन्त वा मानव तस्करको लहलहैमा लागेर लाखौं रकम बुझाउनु हुँदैन । रकम बुझाउँदा पनि आफू बलियो हुने कानूनी आधारहरु तयार पार्नुपर्छ । मुख्य कुरा,जीवनभन्दा ठूलो केही हुन सक्दैन । धेरै कमाउने लोभमा अवैधानिक बाटो रोज्ने र रोज्न लगाउने काम गरिनुहुँदैन । राज्यले यस्ता कार्यलाई पूर्ण रुपले निषेध गर्दै संलग्नहरुलाई कारवाही गर्नुपर्छ । मानव तस्करको सञ्जाल तोडिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->