बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सार्वजनिक बिदा घटाऊ

सार्वजनिक बिदा घटाऊ


  • Dhorpatan News
  • बैशाख १२ २०८१, बुधबार

कतारका राजा कतारका अमिर शेख तमिम विन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा नेपाल सरकारले मंगलबार एकाएक सार्वजनिक बिदाको घोषणा गरिदियो । कतार नेपालको हितैषी हो भन्नेमा द्धिविधा छैन । विश्वको ५५ औं ठूलो अर्थतन्त्र तथा करिब ४ लाख नेपालीलाई रोजगारी दिने राष्ट्र प्रमुख आउँदा सम्मानमा कुनै कञ्जुस्याइँ सुहाउँदैनथ्यो । उनीसँग द्धिपक्षीय हितका सम्बन्ध कसिलो बनाउन र त्यहाँ रहेका नेपालीको हितका खातिर उनको भव्य खातिरदारी हुनैपथ्र्र्यो । उनको भ्रमणबाट नेपाललाई हानीभन्दा लाभ नै हुने निश्चित छ ।

तर, यति हुँदाहुँदै पनि उनको सम्मानमा दिइएको राष्ट्रिय बिदा चाहिँ विवादमा प¥यो । सरकारले मित्रराष्ट्रका प्रमुखहरु आउँदा सम्मानमा सार्वजनिक बिदा दिने गरिएको यसअघिको परम्परा पच्छ्याएको तर्क ग¥यो । तर, जनताले त्यो कुरामा चित्त बुझाएनन् । राजा फालेर ल्याएको गणतन्त्र दिवसकै दिन अर्को देशको राजालाई विशेष सम्मान किन भन्ने प्रश्नमा दम थियो । अनि बिदा दिँदैमा सम्मान हुने पनि हैन । यसरी राजालाई नै सम्मान गर्दा नेपालमा राजतन्त्र फर्कन्छ कि भन्ने त्रास र आशाका अभिव्यक्तिले सामाजिक सञ्जाल भरिए । क्रियाको प्रतिक्रिया दिइहाल्ने सरकारका गृहमन्त्रीले असन्तुष्टि र निर्णयको बचाउ गरे भने राजतन्त्र स्थापनाको एजेण्डा बोकेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यस्तो बिदा जरुरी नभएको प्रतिक्रिया दिए ।

नेपालीहरुको भुल्ने बानी छ । केही दिनमा नागरिकले असन्तुष्टि भुल्लान् । नेताहरुले पनि अनेकौं तर्कबाट बिदाको पुष्टि गर्लान् तर यो प्रकरणले केही समय तताउने निश्चित छ । नेपाल संसारमै बढी सार्वजनिक बिदा दिइने देशमध्येको एक हो । यहाँ कतिबेला सार्वजनिक बिदा दिइन्छ भन्ने पत्तो हुँदैन । अघिल्लो वर्ष नेपाल सरकारले ३५ दिन सार्वजनिक बिदा तोकेको थियो । तर, त्यो ३५ मै सीमित रहेन । अझ, प्रदेश सरकार र पालिकाहरुले पनि सार्वजनिक बिदा थपथाप गरे । यो वर्ष पनि पक्कै त्यही कृत्य दोहोरिने छ । विदेशी अति विशिष्ठ पाहुनालाई कस्तो सम्मान दिने भन्ने राज्यले निक्र्यौल गर्ने विषय हो । त्यसमा समयानुकुल परिवर्तन गरिनुपर्छ । बाटो रोकेर, जनतालाई सास्ती दिएर अति विशिष्ठको गारथ चलाउने काम अब रोकिनुपर्छ । तर, सुरक्षामा कुनै सम्झौता गर्न भने पाइँदैन । त्यसका लागि आधुनिक प्रविधि अपनाउनुपर्छ । रह्यो बिदाको कुरा ! राणाकालीन समयमा आउने ‘नाती जर्साबको जन्म भयो, जुवा फुक्यो’जस्ता उर्दी गणतन्त्रमा पाच्य हुँदैन ।

न त त्यसलाई जनताले नै हृदयबाट नै स्वीकार्छन् । सार्वजनिक बिदा धेरै दिनु भनेको उत्पादकत्व बढाउने काम कम गराउनु हो । उत्पादकत्वको सम्बन्ध अर्थतन्त्रसँग हुन्छ । उत्पादकत्व बढाउन बढीभन्दा बढी समय काम गर्नुपर्छ । कतारजस्ता प्राकृतिक स्रोत साधनले धनी मुलुकबाहेक विकसित देशहरु त्यही गरेर माथि पुगेका हुन् । त्यसले यो वा त्यो नाममा सार्वजनिक बिदा दिने गलत प्रवृत्तिलाई सुधार्नैपर्छ । निश्चित मापदण्डका आधारमा सक्दो कम सार्वजनिक बिदा दिने नयाँ थालनी हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->