उप–निर्वाचनको परिणामले सत्तारुढ एमालेको सिंगो पंक्ति उत्साहित बनेको छ । इलाममा नेता सुवास नेम्वाङको विरासत जोगाएकाले र बझाङको थप सफलताले कार्यकर्ता पंक्तिमा उत्साह आउनु स्वभाविक नै हो । एमालेले इलाममा स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङलाई उम्मेदवार बनायो । अघिल्लो चुनावमा कांग्रेससँगको झिनो मतान्तर, नयाँ पार्टीहरुको उदय र पहिचानवादीहरुको नयाँ गठबन्धनका बीच पनि सुहाङले आफूलाई पुष्टि गरे । अध्यक्ष केपी शर्मा ओलीले काँधमाथि थमाएको जिम्मेवारीको भारी युवा सुहाङले सजिलै उतारे । बझाङ १ मा दमन भण्डारीले पनि एमालेको भरोशा तोडेनन् । संघीय संसदको अंक गणितमा सुहाङको प्रवेशले त्यति ठूलो महत्व नराख्ला तर प्रदेशतर्फ भने दमनको विजयले एमालेलाई राहत भएको छ । मुख्य कुरा त, सुहाङको विजयसँगै एमालेले आफ्नो जनाधार नबिग्रेको र औचित्य कायमै रहेको प्रमाण पेश गरेको छ । जसले गर्दा ‘मिसन ८४’ को उद्घोषसहित २०८४ मा एकल बहुमतको सरकार निर्माण गर्छु भन्ने एमाले पंक्तिमा खुसी ल्याएको छ ।
एमाले देशको प्रमुख राजनीतिक दल भएकोमा कुनै विवाद छैन । २०७९ सालको आम निर्वाचनमा समानुपातिकतर्फ सर्वाधिक मत ल्याएको यो पार्टीका कार्यकर्ताहरु ‘फलामे अनुशासन’मा बाँधिएको विश्वास गरिन्छ । पार्टीप्रति बफादार कार्यकर्ता नै एमालेको पूँजी हो । अहिलेको चुनावमा एमालेले त्यो पूँजीलाई राम्रैसँगै ‘क्यास’ गरेको छ । क्यासमात्र गरेको छैन, पुरानाहरुको जमाना सक्कियो भन्ने नयाँ दल र पहिचानको मुद्दा बोक्नेहरुलाई सोच्न बाध्य बनाइदिएको छ । र, यो सफलताको मुख्य श्रेय चाहिँ पार्टी अध्यक्ष केपी शर्मा ओलीको पोल्टामै गएको छ । अध्यक्ष ओलीले सुहाङको काँधमा बन्दुक राखेर नयाँ पार्टीहरुलाई लोकरिझ्याइँ र असन्तुष्टिलाई भँज्याउने राजनीति दीर्घकालीन नहुने तथा जातीय पहिचानको मुद्दा पनि सर्वस्वीकार्य हुँदैन भन्ने सन्देश दिएका छन् । ओलीको बोलीलाई विश्वास गरिरहँदा जनताले स्थायित्व र समृद्धि अनि पुराना पार्टीप्रतिको भरोशा मरेको छैन भन्ने अभिमत प्रकट गरेका छन् । प्रमुख राजनीतिक दल भएको नाताले यो जनभरोशालाई जोगाउने अभिभारा एमाले र अध्यक्ष ओलीकै काँधमा छ । एउटा पुसले जाडो जाँदैन । जनताले राजनीतिक दलहरुलाई आवधिक निर्वाचनमार्फत् परीक्षण गर्छन्, राम्रो लागे मतदानमार्फत् सत्तामा पु¥याउँछन्, हैन भने भुइँमा पछार्छन् भन्ने कुरा एमालेसहितका दलहरुले बुझ्नैपर्छ । देश अस्थिरतामा जकडिएको बेला प्राप्त भएको विजयलाई एमालेले अवसर र अन्य दलले सबकको रुपमा लिँदा भलो हुन्छ । समग्रमा उप– निर्वाचन जनताबाट टाढिने हैन, नजिकिँदा नै सत्ता नजिक हुन्छ भन्ने सन्देश दिन सफल भएको छ ।
