बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खानेपानीको दीर्घकालिन समाधान खोज

खानेपानीको दीर्घकालिन समाधान खोज


  • Dhorpatan News
  • बैशाख २६ २०८१, बुधबार

झण्डै सात महिना लामो खडेरीपछि सोमबार देशका अधिकांश ठाउँमा भीषण पानी पर्यो । यसले सुक्न लागेको मकै बाली र लेकमा लगाईने आलुलाई सिर्जित गर्ने काम गर्यो । व्यवसायिक रुपमा खेती गर्ने किसानलाई राहत भयो । आकाशे पानीको भरमा बाँच्न बाध्य पारिएका भईँमान्छेको शरीरमा प्राण भर्ने काम गर्यो । खडेरीले पानीका स्रोतहरु सुक्दा खोलाखोल्सा निर्जन बने । जताततै लागेको डढेलो अनियन्त्रित हुँदा हजारौं हेक्टर क्षेत्रफलको हराभरा वन खरानीमा परिणत भयो । वनमा लागेको डढेलोले वनपैदावर मात्र डढाएन त्यहाँ आश्रित पशुपंक्षी नासिए, नागरिकको ज्यान गयो, कतिपय घरबारविहिन समेत बने । खडेरी र डढेलोले पानीका स्रोत सुके । विकासका नाममा अनियन्त्रित रुपमा पाखापखेरामा चलाईएका डोजरले पानीका मुहान संकटमा परेकै थिए । विकासका नाम पर्यावरणिय अध्ययन नै नगरी घरदैलोमा सडक बनाउने प्रवृत्तिले विनाशका श्रृंखलाहरु एकपछि अर्काे गर्दै निम्तिएका छन् ।

मानव सिर्जित गतिविधिका दुस्परिणामहरु एकपछि अर्काे गर्दै प्रकट भईरहेका छन् । विकासको नाममा आज गाउँ गाउँमा सडक त पुगेको छ दुर्भाग्य, पानी अभावकै कारण गाउँघर रित्तिने क्रम अत्यासलाग्दो रुपमा चलिरहेको छ । पानीका महाुन सुक्ने गति भयावह रहेपनि संरक्षणको काममा सरोकारवालाले खासै चासो दिएको पाइदैन । कलकल बग्ने खोला बगरमा परिणत हुँदा समेत सचेत नहुने हो भने भोलि खानेपानी खोज्दै भौतारिने दिन नआउला भन्न सकिदैन । बढ्दो वन विनाश र सामुदायिक वनमा संरक्षित पानीका मुहानै सुक्न थालेपछि निम्तने महासंकट काकाकुल बनेको सदरमुकाम बागलुङ बजार र सिगानाको लामिचौर बस्तीलाई हेरे काफी हुन्छ ।

पानीका स्रोतको उचित संरक्षण नहुँदा शहरबजारदेखि दुर्गम गाउँबस्तीसम्म वर्षेनि खानेपानीको समस्या बल्झदै गएको छ । हरेक वर्ष बागलुङ बजारमा निम्तने खानेपानीको संकट भने नौलो होइन । त्यहीं नियतिले यसवर्ष पनि निरन्तरता पायो । बजारबासीले पर्याप्त त के सिमित पानीका लागि दुईदेखि तीन दिनसम्म कुर्नुपर्ने परिस्थिति बन्यो । पर्याप्त र स्वच्छ पानी आपुर्ति गर्ने प्रतिवद्वता केवल चुनावी नारामा सिमित हुँदा बजारबासीले सुख्खा याममा पानीको चरम अभाव भोग्दै आएका छन् । वर्षा याममा धारामा आउने लेदोसहितको पानीले सास्तीसंगै सरुवा घातक रोगको शिकार बन्नुपरेको आम उपभोक्ताहरु । वर्षामा आउने बाढीपहिरोले खानेपानी योजनाका पाइप बगाउँदा लामो समय आपुर्ति बन्द भएका घटना ताजै छन् ।
बागलुङ बजारमा वितरण हुने रेशखोलाबाट आएको १७ लीटर प्रतिसेकेण्ड पानी घटेर ६ लीटर, भुँदीखोलाको बढीमा ८ लीटर प्रतिसेकेण्ड पानी आएको छ भने रिठेखोलाको मुहानै सुकेको छ । बजारबासीलाई प्रतिसेकेण्ड ७० लीटर पानी चाहिन्छ । त्यसको विकल्पमा निर्माण भैरहेको कैलामपोखरी लिफ्ट आयोजना ठेकेदारले पुरा गरेको छैन । बजारमा पानी सुकेर वितरणमा समस्या आएपछि बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाय खोजेको छ । यसले केही समयका लागि पानी वितरणमा राहत भएपनि दीर्घकालिन समाधान भने दिदैन । बजारमा हुने पानीको हाहाकारलाई सधैका लागि निर्मुल गर्न संस्थाले झिना मसिना काममा नअल्झी दीर्घकालिन समाधानका उपाय खोज्नुपर्छ । नगरबासीलाई पर्याप्त शुद्वपानी वितरण गर्ने नारा चुनावी एजेण्डा मात्रै होइन यथार्थमा परिणत गर्न खानेपानी संस्था हाँक्नेले प्रभावकारी भूमिका खेल्नुपर्छ । चुनावमा हुने जितहार बिर्सेर पर्याप्त शुद्वपानी आपुर्ति गर्न सबैले रचनात्मक भुमिका खेलौं । कछुवा गतिबाट गुज्रेको कैलामपोखरी लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न चौचर्फी दबाब दिऔं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->