बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पानीको मुहान जोगाऊँ

पानीको मुहान जोगाऊँ


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८१, आइतबार

तनहुँको मानुङकोटले केही वर्षयता पर्यटकीय गन्तब्यको दर्जा पाएको छ । उचाइमा बसेर बादलले डम्म ढाकेको दमौलीसहितको भूगोल हेर्न पाउनु मानुङकोटको विशेषता हो । एक दिन घुम्न जानेलाई त मानुङकोटले लोभ्याउँछ नै ! तर, त्यहीँका रैथानेहरु चाहिँ जन्मथलोमा अडिन सकेनन् । खानेपानीकै अभावले उनीहरुलाई थातथलो छाड्ने बनायो । मानुङकोट त उदाहरणमात्र हो । घाँटी भिजाउने पानीकै अभावले गण्डकी प्रदेशका धेरै नागरिकले जन्मथलो छाडेका छन् ।

आधुनिक प्रविधि भित्रिएसँगै केही गाउँमा बस्तीभन्दा तलको मुहानबाट पानी तानिएको ( लिफ्टिङ) गरिएको छ । गण्डकी सरकारले अगाडि सारेको ‘एक घरः एक धारा’ कार्यक्रममार्फत् आँगनमै धारा ठडिँदा नागरिकलाई सुविस्ता मिलेको पनि छ । तर, केही गाउँ र बस्तीहरुमा भने भएका पानीका मुहानहरु पनि सुकेर बिजोग अवस्था सिर्जना हुन थालेको छ । बागलुङ नगरपालिका १, कुश्मीसेरा यस्तो उदाहरणको रुपमा अगाडि आएको छ ।

केही वर्षअघिसम्म कुश्मीसेराबासी छहरे खोलाको पानी खान्थे । तर, अहिले छहरे खोलाको मुल सुकेको छ । मुहानको विवादले खानेपानी परियोजना पूर्ण हुन सकेको छैन । कुश्मीसेराबासीहरु अहिले खोल्साखोल्सीको पानी उवाएर खान बाध्य बनेका छन् । ती खोल्साखोल्सी पनि कहिले सुक्ने हो भन्ने त्रास उनीहरुमा देखिएको छ । पछिल्लो समय खानेपानीका मुहानहरु सुक्न थालेका छन् ।जलवायू परिवर्तन,वातावरणीय क्षतिको मूल्याङ्कन बिना गरिएका भौतिक निर्माण,वनजंगलको विनाश,भूकम्प आदिले गर्दा पानीको मुहानहरु सुक्दै गएको विज्ञहरुको भनाइ छ । समयमा वर्षा नहुँदा, ठूला मेसिन चलाएर पानीको भूमिगत बाटो र भण्डारहरुमा क्षति पु¥याइँदा यो अवस्था आएकोमा कुनै द्विविधा पनि छैन । पानी ओरालोतिर बग्छ । तर, यसको आफ्नै गति र लय हुन्छ । भूमिगत रुपले बग्ने पानीको बाटो बिथोलियो भने त्यसले अर्को बाटो समात्छ । जथाभावी डोजर चलाउँदा पानीको बाटो बिग्रिएको छ । जसले गर्दा मुलहरु सुक्न पुगेका छन् ।

वन–जंगलको विनाश, पोखरी र तालहरुको अतिक्रमणले पनि भूमिगत रुपले पानी संग्रह हुने प्रक्रिया बिथोलिँदा पनि मुहान सुक्न पुगेका छन् । भूकम्पले पारेको प्रभाव अर्को कारकको रुपमा रहेको जगजाहेर छ । पानी जीवनको आधार हो । राज्यले सबै नागरिकका निम्ति पानीको जोहो गरिदिनुपर्छ । त्यसो भनिरहँदा प्रकृतिको अमूल्य उपहारको रुपमा प्राप्त पानीका मुहानहरु संरक्षणको लागि अल्पकालीन र दीर्घकालीन रणनीति तयार गर्नैपर्छ । मुहान संरक्षणका लागि त्यसभन्दा माथिको क्षेत्रमा पोखरी निर्माण, वृक्षरोपण त छँदैछ, त्यसका अलावा पानीको बहाव नै बिगार्ने गरी प्राकृतिक दोहन रोक्नु तथा डोजरे विकासले निम्त्याएको त्रासदीलाई समयमै नियन्त्रण गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->