बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ट्राफिक नियम पालनामा हेलचेक्रयाइँ नगरौँ

ट्राफिक नियम पालनामा हेलचेक्रयाइँ नगरौँ


  • Dhorpatan News
  • जेष्ठ १ २०८१, मंगलबार

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अघिल्लो आर्थिक वर्षको माघ–फागुन र चैतमा २१ हजार १९२ वटा सवारी साधनलाई कारवाही ग¥यो । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधनका धनीबाट जरिवानास्वरुप १ करोड ९२ लाख ७७ हजार राजश्व प्राप्त भयो । कारवाही भोग्नेमा सवारी साधनको स्वरुप परिवर्त गर्नेहरु नै १ हजारभन्दा बढी थिए । त्यही अवधिमा १७ वटा दुर्घटना भए भने १३ जनाले ज्यान गुमाए ।

यो तथ्याङ्कले भन्छ-पोखरामा ट्राफिक नियम उल्लंघनको अवस्था भयावह छ । जथाभावी रोक्ने, जेब्राक्रसमा हिँडीरहेका यात्रुको वास्ता नगर्ने,वायू प्रदूषण फैलाउने,ध्वनी आतंक सिर्जना गर्ने,सवारीको स्वरुप परिवर्तन गर्नेलगायतका कृत्यहरु यहाँको निम्ति सामान्य भएका छन् । नगर बसहरुले बाटोमै रोकेर यात्रु चढाउने-ओराल्ने, आफू-आफूबीच प्रतिस्पर्धा गर्दा नियम मिच्ने प्रवृत्ति झन डरलाग्दो छ ।

न्यूरोडको एकतर्फी सडकको बीचमा राखिएको जेब्राक्रसबाटै दुई पांग्रे सवारी घुमाउने काम पनि सवारी चालकबाट हुँदै आएको छ । न्यूरोडमा जेब्राक्रसलाई यु–टर्न गर्ने स्थलको रुपमा प्रयोग गरेपछि बाध्य भएर ट्राफिक प्रहरीले त्यहाँ ब्लकको गारो लगाएको छ । जसले गर्दा अपाङ्ग, दृष्टिविहीन र सामान्य नागरिकहरु कष्टपूुर्ण तरिकाले बाटो काट्न अभिषप्त भएका छन् ।

ट्राफिक नियमको परिपालना गर्नु भनेको अर्काको अधिकारको रक्षा गर्नु त हुँदै हो, आफू सुरक्षित रहनु पनि हो । यो चेत यहाँका नागरिकमा देखिएको छैन । हुन त, यहाँ ट्राफिक नियमहरु पालना गराउन आवश्यक पर्ने चिन्ह, बत्तिलगायतको व्यवस्था छैन । तर, ट्राफिक प्रहरीको आँखै अगाडी नै नियम उल्लंघन गर्ने जमात सानो छैन । तीमध्ये कतिलाई त ट्राफिक नियमको सामान्य ज्ञान पनि छैन । त्यसो हुनुमा लाइसेन्स वितरणदेखिकै कमजोरीले काम गरेको पनि कतैबाट छिपेको छैन ।

ट्राफिक प्रहरीले सचेतनाको लागि एकहप्ते कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेशका सवैजसो जिल्लामा संचालित कार्यक्रम कत्तिको प्रभवकारी भयो भन्ने आउँदा दिनमा देखिने नै छ । तर, यहाँका नागरिकलाई ट्राफिक नियमको पालना गर्न बाध्य बनाउने र नहुँदा कडा डण्डको व्यवस्था गरिनैपर्छ । यसो भनिरहँदा,ट्राफिक प्रहरीले पनि सिकाउने हैन कि, कतिबेला नियम उल्लघंन होला र जरिवानको रसिद काटौंला भन्ने मानसिकता त्याग्नुपर्छ । गौंडा कुरेर मान्छे छोप्ने प्रवृत्ति त झनै त्याग्नुपर्छ । चालहरुले चाहिँ ज्यानभन्दा ठूलो केही हुँदैन, दुर्घटनापछि पछुताएर केही पाइँदैन भन्ने सदैव मनन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->