पोखरा/ शंकर पौडेलको संयोजकत्वा राष्ट्रिय युवा संघ नेपाल कास्कीको ९ सदस्यीय आयोजक कमिटी बनेको छ । २०८० माघ १२ मा संघको एघारौं जिल्ला अधिवेशन उद्घाटन भएर नेतृत्व चयन गर्नेबेला प्रतिनिधिको विषयमा विवाद उत्पन्न भएपछि बन्दसत्र स्थगीत थियो । यही बैशाख ३१ मा संघको केन्द्रीय पदाधिकारी बैठकले कास्कीमा संघलाई निष्क्रिय राख्न नहुने भन्दै कमिटिलाई नियमित काममा फर्काउनु पर्ने परिस्थितिको मुल्याकंन गर्दै पौडेलको संयोजकत्वमा आयोजक कमिटि बनाएको हो । पौडेल तत्कालीन कमिटीका उपाध्यक्ष थिए ।
आयोजक कमिटिमा जिल्लाका ५ पालिका कमिटी अध्यक्षहरू सहित ३ निर्वाचन क्षेत्रवाट १ १ जना महिलाको ३३ प्रतिशत महिला सहभागिता अनिवार्य बनाई प्रतिनिधित्व रहने गरी ९ सदस्यीय आयोजक कमिटी बनेको हो । आयोजक कमिटिलाई ३ महिनाभित्र सम्मेलन सम्पन्न गर्न केन्द्रिय कमिटीले निर्देशन गरेको छ ।
आयोजक कमिटिमा पोखरा महानगरपालिकाका प्रदिप गुरुङ, मादी गाउँपालिकाका उमेश गुरुङ, रुपा गाउँपालिकाका सुजन श्रेष्ठ, माच्छापुछे गाउँपालिकाका दलबहादुर लामिछाने, अन्नपूर्ण गाउँपालिकाका शिव सुवेदी, महिला सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा करिया बराल, निर्वाचन क्षेत्र नं. २ मा रिना थापा, निर्वाचन क्षेत्र नं. ३ मा सुवानी पौडेललाई जिल्लाको आयोजक कमिटी सदस्य रहने महासचिव सुजन पुरीद्वारा हस्ताक्षर भएको केन्द्रको पत्रमा उल्लेख गरिएको छ ।





