पोखरा/ कास्की प्रहरीले २१ जना लागू औषध सेवनकर्ता पक्राउ गरी अभिभावकको रोहबरमा प्रशिक्षण समेत दिई छाडिदिएको छ । जिल्लाका विभिन्न स्थानमा अखडा बनाई लागूऔषध सेवन गरी हिडडुल गर्ने, सर्वसाधारणलाई डरत्रास देखाउने, लुटपाट गर्ने, चोरी गर्ने गरेको भन्ने जनगुनासोपछि प्रहरीले आजै ‘स्वीप अप्रेशन’ चलाएको थियो ।
त्यसक्रममा विभिन्न स्थानमा लागूऔषध सेवन गरी लठ्ठ परी बसेका, लागू औषध प्रयोग गरी रहेका तथा ५/ ७ जनाको ग्रुप बनाई विभिन्न अश्लिल शव्द प्रयोग गर्दै होहल्ला गरिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला प्रहरीमा ल्याई उनीहरुका अभिभावक समेत बोलाई लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक विद्याधर त्रिपाठीले लागू औषध दुर्व्यसनी, लागू औषधको प्रयोगबाट हुने असर तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण दिएका थिए । उनीहरुलाई आईन्दा लागू औषध सेवन नगर्ने, लागू औषध सेवन गर्ने व्यक्ति तथा कारोवारमा संलग्न व्यक्तिहरुको सम्वन्धमा प्रहरीलाई सूचना दिने र असल नागरिक बन्ने प्रतिवद्दता समेत जनापछि अभिभावकको जिम्मा लगाई छाडिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।





