पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बुधवार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार पनि उक्त मुद्धा हेर्दाहेर्दैमा राखेर बुधवारलाई सारिएको थियो ।
गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धितालसहित गैरकानूनी रुपमा मुख्यमन्त्री पदमा नियुक्ति भई सपथ ग्रहण गरी विश्वासको मत प्राप्त गरेको भनी घोषणा गरिएका मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई बैशाख २५ मा रिट दायर गरेका थिए । वादी र प्रतिवादीका कानुन व्यवसायीले हिजो र आज बहस गरेका थिए ।
पाण्डेले वैशाख २५ गते रिट दायर गरेका थिए । रिटमाथि वैशाख २८ मा प्रारम्भिक सुनाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गर्दै हिजाे मंगलबारका दिन पेसी तोकेको थियो । साथै अर्को आदेश नभएसम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश जारी पनि उक्त इजलासले गरेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन चाहिने मत ३० होकी ३१ भन्ने वहसबीच गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत मिलेको सभामुखले गत बैशाख २३ मा घोषणा गरेका थिए । सभामुखलाई गणना नगरी ५९ सदस्यलाई आधार बनाएर बहुमत ३० जनाले विश्वासको मत दिएको भन्दै सभामुख कृष्णप्रसाद धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन ।





