पोखरा/ नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ ।
गण्डकी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने जनाएका हुन । बैशाख २३ मा विश्वासको मत लिने क्रममा सभामुखले असंवैधानिक तवरबाट खगराज अधिकारीलाई बहुमत प्राप्त गरेको भनि घोषणा गरेको प्रक्रियाबिरुद्ध कांग्रेसका तर्र्फबाट सर्बोच्च अदालतमा रिट दायर गरिएको र जेठ १४ मा अन्तिम सुनुवाईको चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ । अदालतबाट अन्तिम फैसला आउन बाँकी रहेको र बैशाख २८ मा सर्बोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै पनि निर्णय नगर्नु गराउने भनेकाले अदालतको आदेशको अवहेलना हुनेगरी कामचलाउ प्रदेश सरकारले प्रदेशसभा बैठक आव्हान गरी आगामी वर्षको बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति कांग्रेस संसदीय दलको गम्भिर असहमति रहेको विज्ञप्तिमा छ ।
‘मुद्धाको किनारा नलाग्दासम्म प्रदेशसभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने भन्दै जेठ ११ को प्रदेशसभा बैठकमा सहभागी नहुने कांग्रेस संसदीय दलको निर्णय जानकारी गराउछौ’ विज्ञप्तिमा भनिएको छ, ‘अदालतको आदेशविपरित कार्य गरे गराइएमा कांग्रेस संसदीय दललाई मान्य नहुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार र आदेश उल्लघंन गर्ने पक्ष हुनेछ ।’





