पाेखरा/ पूर्वराष्ट्रपति डा. रामबरण यादवले सरकारमा भएकाले सधै संविधान, कानुन र विधी विपरित काम गर्ने भएकाले त्यसलाई रोक्न पत्रकार जगतले सधै वाचडगको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा तथा १२ औं अधिवेशनको शनिवार पोखरामा उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताए । व्यवस्था राम्रो भएर मात्र नहुने भन्दै कार्यपालिका, व्यावस्थापिका र न्यायापालिकाले गलत गर्नसक्ने उल्लेख गर्दै पत्रकारले यसमा आफ्नो धर्म निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । देशमा मिडीयाको बिकास भए पनि देशको शासकीय चरित्र नफेरिएकोमा चिन्ता व्यक्त गर्दै उनले सरकारमा भएकाले संविधानमा भएको कुरा पालना नगरेको बताए । अहिले एआईको जमाना छ । साइवर क्राइम पनि छ तर राज्य पनि उही अवस्थामा रहेको भन्दै उनले श्रमजीवि पत्रकार र मिडीया हाउसले ठूलो दुखका बीच धर्म निर्वाह गरिरहेको प्रसंग उल्लेख गरे । ‘अहिले पनि संसारमा पत्रकार मारिइरहेका छन’ उनले भने, ‘भारतमा सरकारले नै मिडिया कन्ट्रोल गरिरहेका छ । यहाँ पनि यस्तै गर्न लागिएको होकी ।’ पत्रकारले आफ्नो धर्म निर्वाह गर्नै पर्ने नभए जीवन नचल्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शंकारहित हुनुपर्नेमा अझै पनि दुवै क्षेत्र खारिन बाँकी रहेको बताए । एकोहोरो रुपमा लाग्दा एक रथका दुई प्राङ्गाको रुपमा रहेका दुवै क्षेत्र शंकाको घेरामा पर्ने तर्क उनले गरे । ‘हामी कानून र विधिका कुरामा एकतावद्ध भएर जान्छौ । तर, हामीलाई तपाईले सचेत गराउनैपर्छ’ उनले भने, ‘सञ्चार क्षेत्र आवाजविहीनहरूको आवाज माथि उठाउन, विना पूर्वाग्रह, विना पक्षधरता व्यावसायिक तरिकाले खरो रुपमा उत्रनेछ भन्ने शुभेक्क्षा व्यक्त गर्छु ।’ केही विषय त्यसरी नै उठाउँदा कहीँ फरक त परेन भनेर समीक्षा गर्नुभयो भने समीक्षा गर्न आफू बाध्य हुने उनले सुनाए। । सन्तुलन नगुमाई, आवेगमा नआई, आफ्नो परिपक्कता राजनीतिक क्षेत्र तथा सञ्चार क्षेत्रले देखाउनुपर्ने भन्दै यसको लागि साथ र सहयोग गर्ने आश्वासन उनको थियो । ‘राजनीतिक अधिकार प्राप्तिको एजेण्डा व्यवस्थित भैसकेपछि आर्थिक एजेण्डालाई पहिलो बनाएर अगाडि बढ्ने क्रममा यसका केही परिपक्कता अझै बाँकी छ, त्यसलाई हामी परिपक्क बनाउन कोशिस गरिरहेका छौँ’ उनले भने ।
पत्रकार महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश विष्टले सरकार कुनैपनि सञ्चारमाध्यमविरुद्ध खनिनु न्यायसंगत नहुने बताए । साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान(२०८० बाट सम्मानित गरियो । पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा उनको परिवारद्वारा स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
पत्रकार महासंघ कास्कीले आर्थिक पत्रकारिता पुरस्कार(२०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देललाई पुरस्कृत गरेको छ । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।





