पोखरा विश्वविद्यालयले पोखरा ३० मा सय शैऽयाको अस्पताल संचालनमा ल्याएको छ । यसअघि पनि स्थानीयलाई २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको अस्पतालमा इसीजी, रेडियोलोजी सेवा उपलब्ध छ भने शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र अन्तरंग सेवा सञ्चालनको तयारी थालेको छ ।
पोखरा विश्वविद्यालयले हाल औषधि तथा चिकित्सा विज्ञानसँग सम्बन्धित विभिन्न विषयहरुको पढाइ संचालन गरिरहेको छ । ती विषयको प्रयोगात्मक परीक्षाको लागि विश्वविद्यालयको आफ्नै अस्पताल चाहिन्छ । अहिले संचालनमा ल्याइएको अस्पताल आवश्यकताको उपज हो । तर, यो कदमपछि अब ३ सय शैऽयाको अस्पताल संचालनको बाटो खुलेको र चिकित्साशास्त्रको एमबीबीएस र एमडीको पढाइको सपना बुनिएको अस्पताल प्रशासनको भनाइ छ ।
स्थापनाको २७ वर्षपछि पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल संचालनमा ल्याएको छ । चिकित्सा शिक्षा आयोगले स्वास्थ्यसम्बन्धी पढाइलाई एकीकृत गरिदिएको छ । हरेक मेडिकल कलेजहरुलाई कति संख्यामा विद्यार्थी पढाउने, कतिजनालाई छात्रवृत्ति दिनुपर्नेजस्ता प्रावधानहरुसहित शुल्क पनि निर्धारण गरिदिएको छ । पोखरा विश्वविद्यालयले पनि सरकारको त्यही निर्देशन पालना गर्ने क्रममा अस्पताल संचालनमा ल्याएको हो । तर, अस्पताल संचालनले कास्कीसहित समग्र गण्डकीका नागरिक लाभान्वित हुने र सस्तो शुल्क तिरेर उपचार गर्न पाउने अवसर सिर्जना पनि भएको छ । नेपालमा स्वास्थ्य उपचार अहिले पनि महंगो. नै छ । असाध्य रोग त छाडौँ,सामान्य रोगको उपचारको लागि पनि निजी संस्था धाउनुपर्ने वा अर्कै सहर पुग्नुपर्ने बाध्यताबाट नागरिक मुक्त छैनन् । स्वास्थ्य बीमा लागू भएको छ । तर, सबै अस्पतालले सो बीमा अनुसार उपचार सेवा उपलब्ध गराएका छैनन् । औषधि नपाइनेजस्ता रोग त छँदैछन् । यस्तो विषमतामा विद्यार्थीलाई सिकाउने र उपचार दिने गरी पोखरा विश्वविद्यालयले अस्पताल संचालन गर्नु स्वागतयोग्य कदम बनेको छ । लेखनाथ क्षेत्रमा संचालित यो अस्पतालले आउँदा दिनमा समग्र गण्डकी प्रदेशबासीलाई सेवा प्रदानको दायित्वबहन गर्नुपर्छ । २७ वर्षअघि पोखराको निजी र सामाजिक क्षेत्रको सक्रियतामा यो विश्वविद्यालय खुलेको हो । विश्वविद्यालयसँग पोखरेलीहरुको ठूलो अपेक्षा छ । त्यो अपेक्षा पूरा गर्ने कार्यमा विश्वविद्यालयले इमान्दार प्रयत्न गर्नुपर्छ । अस्पताल समुद्घाटनको बेला गण्डकीका मुख्यमन्त्रीले भनेजस्तै बीमा कार्डकै आधारमा सबै उपचार सेवा उपलब्ध हुने वातावरण बनाउनुपर्छ ।
