पोखरा/ गण्डकी प्रदेश सभाको बैठक विहीबार बस्ने भएको छ । यसअघि मंगलबार बस्ने भनिएको बैठक मुख्यमन्त्रीको विश्वासको मतका विषयमा सर्बोच्च अदालतको परमादेशपछि स्थगीत भएको थियो । प्रदेश सभा सचिवाललयले बुधवार सूचना जारी गर्दै जेठ १७ गते बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने जनाएको हो ।
विहीबारको बैठकमा यसअघि तय गरिएको बजेटको सिद्धान्त र प्राथमिकता र प्रस्तुत हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक भने बिहीबार बिहान नै बस्ने भएको छ ।
यसअघि प्रदेश सभाको बैठक जेठ ११ गते बसेकोमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र विपक्षी दल राप्रपाका सांसद अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो । सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ ।
वैशाख २३ मा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्चले सोमबार फैसला सुनाउदै अधिकारीलाई पदमुक्त गरेको छ भने काग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ । पाण्डे आजै मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।





