बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रतिको कटाक्ष स्वीकार्य हुँदैन- अधिकारी

‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रतिको कटाक्ष स्वीकार्य हुँदैन- अधिकारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८१, बिहिबार

पोखरा/ नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई स्वीकार्य नहुने बताएका छन । प्रदेश सभाको विहीवारको बैठकमा विशेष समय लिएर उनले सरकार बदलिँदा अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता नदिने गरेकोमा असन्तुष्टि जनाए ।

‘नव उदारवादी अर्थतन्त्रको नाममा गरिबी बढाउने, केही मुठीभर मानिस धनी हुने, प्रदेश त्यसको मतियार बन्ने हो भने किमार्थ प्रतिपक्षलाई स्वीकार हुँदैन’ उनले भने, ‘यसपालीको बजेट सबै दल मिलेर पास गर्नुपर्ने अवस्थामा छ ।’ त्यसलाई ध्यान नदिई एकपक्षीय रुपमा सत्तापक्ष जाने हो भने के गर्ने भन्नेबारे सल्लाह गरेर निर्णय गर्ने उनले बताए ।

‘अहिलेका मुख्यमन्त्रीले भनेजस्तो हामी २७ जना छौं देखाइदिन्छौ भन्ने पक्षमा छैन, कस्लाई देखाउने ? जनता हाम्रो अगाडि छन् निमुखा छन् बाटो बनेको छैन, पूल बनेको छैन, बेरोजगारी हटेको छैन, औद्योगीक क्षेत्र निर्माण भएका छैनन्, वित्तीय समानिकरण अनुदानमा चुनौती आइरहेको छ कस्लाई देखाइदिने?’ उनले भने, ‘म त्यत्रो धम्कीपूर्ण भाषा भन्न सक्ने हैसियतमा छैन, म गर्दिन पनि ।’ अघिल्लो वर्षको बजेट ल्याउँदा एमालेले जितेको क्षेत्रमा ताकि–ताकि बजेट काटेको आरोप उहाँको थियो ।

अघिल्लो पटक बडा सन्तुलित अर्थमन्त्रीले ल्याएको बजेट छानी–छानी एमालेमाथि, अझ विशेषत विपक्षी दलको नेताको ठाउँमा नपार्ने भनेर सपथ खाएको त होइन होला, तर प¥यो त्यस्तो कसरी हो, म तपाईहरुलाई केही भन्दिन, तर बजेट ल्याउदा त्यसरी ताकि–ताकि ल्याउनु भयो भने मलाई ताक्नुहोला अरुलाई नताक्नुहोला भन्दै उनले मुख्यमन्त्रीप्रति चेतावनी शैलीमा भने । एमाले स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले करको दर नभएर दायरा बढाउन समेत आग्रह गरे । ‘करको दर होइन दायरा बढाउने र करको क्षेत्रमा ल्याउने काम गरौं, कम्तीमा तीन तारेसम्मका होटलमा हामी जाने र स्थानीय रिर्सोटहरु स्थानीय तहलाई दिने गरी जान सकियो भने आन्तरिक राजश्व बढ्छ’ उनले भने ।

हामी हाम्रा निष्ठा विश्वासप्रति कटिबद्ध छौं, त्यो हाम्रो सार्वभौम अधिकार हो । तर, हाम्रा साझा कुराहरु पनि छन् । त्यसतर्फ ध्यान दियौँ भने हाम्रो प्रदेशलाई बलियो र सुदृढ बनाउन सक्छौ । पर्यटनको क्षेत्रमा नयाँ पदमार्ग खोल्ने, हिमालय क्षेत्रमा लुकेका पदमार्गलाई अगाडि बढाउनुपर्ने उनले बताए । पोखरा पर्यटनको राजधानी घोषणा गर्दाको गाइडलाइन अनुसार पूर्वाधार विकास गर्न, चौबिसै घण्टा खोल्न, सुशासन शान्ति सुरक्षा प्रदान गर्न लगानी कति हुन्छ बजेटको सिद्धान्त र प्राथमिकता बनाउँदा ध्यान दिनुपर्ने उनले बताए ।

प्रकृति र संस्कृतिलाई साथमा लिएर पर्यटनलाई अगाडि बढाउनुपर्नेछ । जलवायू परिवर्तनले पारेको असरको समाधान गर्नेतर्फ ध्यान दिनुपर्नेछ । यसका अलावा जनसांख्यिक लाभ लिँदै उद्यमशिलतातर्फ लगरे स्वरोजगार सिर्जना गर्नेतर्फ जानुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->