पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ आँखा अस्पतालचोकस्थित नारी शक्ति जागरण आमा समुहको आयोजना एवम् असल छिमेकी सहयोग संघ (गोनेसा) को आर्थिक सहयोगमा तीन दिने उद्घोषण तथा संस्था परिचालन तालिम शुरु भएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल महिलाको लागि नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यसाथ सञ्चालित तालिममा विभिन्न आमा समुह र टोलविकास संस्थाका ५०ा महिलाको सहभागिता छ । समुहको पाँचौ स्थापना दिवसको अवसरमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा पत्रकार घनश्याम पाण्डे रहेका छन ।
वडासदस्य विष्णुकुमारी थापाले तालिमको उद्घाटन गर्दै सिकेको सिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरिन । आमा समुहको माध्यमवाट महिला नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उनले महिला सशक्तिकरणमा महानगरले आवश्यक सहयोग गर्दै आएको बताइन । महिला मानव अधिकार संजाल कास्कीका अध्यक्ष एवम् गोनेसा सञ्चालक समिति सदस्य केशु भुजेलले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताइन ।
आमा समुहका अध्यक्ष पियारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार हरि बास्तोला, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, शुभकामना आमा समुहका अध्यक्ष कोकिला श्रेष्ठ, समाजसेवी लिलबहादुर जिसी लगायतले तालिमको महत्व माथि प्रकाश पारेका थिए । समुहका उपाध्यक्ष राधादेवी लम्सालले स्वागत र सचिव पूर्णकला पोखरेलले कार्यक्रम संचालन गरेकी थिइन ।





