बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हिमाल आरोहण व्यवस्थित बनोस्

हिमाल आरोहण व्यवस्थित बनोस्


  • Dhorpatan News
  • जेष्ठ २० २०८१, आइतबार

यो पटकको वसन्तयाममा पनि आरोहणको क्षेत्रमा कयौं कीर्तिमानी कायम भएका छन् । गण्डकीकी चेली पूर्णिमा श्रेष्ठदेखि कामिरतासम्मले सगरमाथा आरोहणको क्रममा बनाएका कीर्तिमानको कदर हुनैपर्छ । तर, यही याममा सगरमाथको सफल आरोहरणपछि तल झर्ने क्रममा विनोदबाबु बस्ताकोटीले ज्यान गुमाएका छन् । सगरमाथा आरोहण आफैमा मृत्युसँगको पौंठेजारी हो । सफल आरोहण भनेको मृत्युमाथिको जीत हो । सगरमाथासहित हिमाल चढ्ने क्रममा धेरैले ज्यान गुमाएका छन् । हिमालमा कयौं शवहरु अहिले पनि लुकेकै अवस्थामा छन् । यो तथ्य सबैको सामु छर्लङ्गै छ । ‘आरोहरण भनेको शिखरमा पुग्नुमात्र हैन, सफलतापूर्वक अवतरण गर्नु पनि हो’ भन्ने एडमण्ड हिलारीको भनाइ सम्झने हो भने त सकुसल फर्कनु पनि आरोहणकै एउटा हिस्सा हो । तर, विनोदको हकमा जे कुरा बाहिर आएका छन्, त्यसले हाम्रो आरोहण क्षेत्रभित्रका विकृतिबारे गम्भीर हुनुपर्ने देखिएको छ । आरोहरणको बन्दोबस्तिको जिम्मेवारी लिएको कम्पनीको लापरवाहीकै कारण विनोदले अक्सिजन नपाएको र त्यही कारणले ज्यान गएको परिवारको आरोपमा सत्यता छ भने, त्यो गम्भीर अपराध नै हो । आरोहण क्षेत्रको विकृति हो । यसको जति निन्दा गरे पनि कम हुन्छ । आरोहरणलाई पैसा कमाउने माध्यम बनाउने, आरोहीको जीवनप्रति गम्भीर खेलबाड गर्ने छुट कसैलाई छैन र दिइनु हुँदैन ।
तेन्जिङ नोर्गे र एडमण्ड हिलारीको बेला हैन यो । अहिले हिमाल आरोहणलाई प्रविधिले सजिलो बनाइदिएको छ । शिखर पुग्ने बाटोमा डोरी टाँगिएको छ । अक्सिजनदेखि अन्य आवश्यक उपकरण उपलब्ध छन् । आवश्यक परे मान्छेलाई बोकेरै उद्धार गर्ने खुवीसहितका तालिमप्राप्त शेर्पा पदप्रदर्शकहरु रहेकै छन् । यस्तो सुगमतामा पनि लापर्वाही गर्नुलाई किन्तु–परन्तु भनेर छुट दिन सकिँदैन । आरोहणको क्षेत्रमा हुने लापरवाहीबारे यसअघि पनि गाइँगुइँ नसुनिएको हैन तर विनोदबाबु प्रकरणले यसलाई चर्को बनाइदिएको छ । आरोहणको नियमन गर्ने निकाय तथा आरोहण क्षेत्रमा संलग्नहरुले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । घटनाको छानबिन हुनुपर्छ ।
पछिल्लो समय हिमाललाई आराम दिनुपर्ने तथा कस्ता मान्छेलाई मात्र आरोहणमा जान दिने भन्नेबारे बहस चलेको छ । आरोहण जो पायो त्यहीले गर्ने काम हैन र यसमा निश्चित मापदण्ड कायम गरिनैपर्छ । कीर्तिमान कायम गर्ने भोक एउटा कुरा होला तर त्यसका निम्ति आवश्यक तयारी र प्रबन्धको सुनिश्चिततापछि मात्र आरोहण अनुमति दिने प्रणाली बनाउनैपर्छ । यसो गर्न सकेमात्र दुर्घटनामा कमी आउँछ, हिमालको महत्व पनि बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->