आजभन्दा ७४ वर्षअघि अर्थात् सन् १९५० को जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लिचेननले अन्नपूर्ण आरोहण गरे । हिमाल आरोहण इतिहासमा उनले ८ हजारभन्दा अग्लो हिमाल चढेर किर्तिमानी कायम गरे । त्यसको तीन वर्षपछि तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथामा पाइला टेके । विश्वको अग्लो हिमाल आरोहणको किर्तिमानसँगै नेपाल बाहिरी विश्वसँग परिचित भयो । हर्जोगले अन्नपूर्णको सफल आरोहण मात्रै गरेनन् । आरोहणको दुई वर्षछि सन् १९५२ मा अन्नपूर्ण भन्ने किताब नै लेखे । उनले लेखेको किताब सार्वजनिक भएकै हप्ता ४० हजार प्रति बिक्री भयो । सन् २०१२ मा हर्जोगको निधन हुँदासम्म अन्नपूर्ण किताबको बिक्री करोडौँको संख्यामा भइसकेको थियो । किताब बिक्रीसँगै नेपालको आरोहण र पदयात्राको प्रवद्र्धनमा उनले विशेष योगदान दिएका थिए ।
नेपाल बाहिरी विश्वको लागि सन् १९५० मा मात्र खुल्ला भएको हो । नभए यो हिमाली राज्य केही बेलायती र केही घुमन्ते भिक्षुहरुको लागि मात्र स्वर्ग थियो । तर, नेपाल बाहिरी विश्वको लागि खुलेसँगै यसको चर्चा विश्वभर हुन थाल्यो । खासगरी हिमाल र आरोहणकै माध्यमबाट नेपालले विश्वमा चर्चित हुने अवसर पायो । यसको श्रेय पहिलो चरणमा मौरिस र उनको टिमलाई जान्छ । उनले लेखेको किताब पढेर धेरै विदेशीहरु नेपाल घुम्न आए । यसले नेपालको पर्यटन उद्योगको जग पनि बसायो ।
मौरिस अहिले हामीमाझ छैनन् । तर, नेपाल पर्यटकीय गन्तब्यको रुपमा विश्वमा चर्चित बनेको छ । आरोहण र हिमाली पदयात्राकै माध्यमबाट नेपालको अर्थतन्त्रमा योगदान पनि भएको छ । अझ खुलेर भन्दा, अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा त उनको अतुलनीय योगदान रहेको छ । मौरिसकको यो योगदानको हिजोआज बढी चर्चा हुन थालेको छ । केही वर्षदेखि यहाँका पर्यटन व्यवसायीहरुले अंग्रेजी महिनाको जुन ३ लाई अन्नपूर्ण दिवसको रुपमा मनाउन थालेका छन् ।
औपचारिक कार्यक्रममा समेटिएको अन्नपूर्ण दिवसले कति सार्थकता देला ? यसै भन्न सकिँदैन । तर, प्रवद्र्धनात्मक गतिबिधिहरु सधैँ सह्रानीय नै हुन्छन् । म्याग्दी र कास्कीका दुई पालिकाको नाम अन्नपूर्ण रहेको छ । मौरिसले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ हुँदै उत्तरी मोहोडाबाट अन्नपूर्णको सफल आरोहण गरेका थिए । मौरिस हिँडेको मार्गलाई प्रवद्र्धन गर्न सो गाउँपालिका जुटेको छ भने कास्कीको अन्नपूर्ण गाउँपालिकाले पनि अन्नपूर्णको अर्को आधार शिविरसम्मै पर्यटकीय गतिविधि संचालन गरिरहेको छ ।
गाउँपालिकाको सहयोग तथा अन्नपूर्ण सेन्चुरी पर्यटन विकास समितिले अन्नपूर्ण आधार शिविरबाट म्याराथन प्रतियोगिताकै आयोजना गरिरहेको छ । आरोहरणको क्षेत्रमा इतिहास रच्ने तथा नेपाललाई बाहिरी विश्वमा चिनाउने मौरिस र उनको टिमको योगदानको स्मरण गरिनु सह्रानीय छ । मौरिसको सम्झना गरिरहँदा गण्डकी क्षेत्रमा आरोहण गतिविधि बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने देखिएको छ । आरोहणको दृष्टिले जेठो हिमाल भए पनि अन्नपूर्ण र धौलागिरिमा आरोहण गर्नेको संख्या कम छ । कम हुनुको कारण पत्ता लगाउँदै साहसिक गतिविधि संचालन गर्नेतर्फ अब सामूहिक प्रयत्न जरुरी छ ।
