सत्ता चीरस्थायी हुँदैन । लोकतन्त्रमा जनताले आफूसँग निहित राजकीय अधिकार प्रयोगको जिम्मेवारी रोजेको दल वा व्यक्तिलाई सुम्पन्छन् ।प्रदत्त अधिकारको सही प्रयोग भए÷नभएको हिसाब–किताब राख्छन् र मन नपर्नासाथ सो अधिकार फिर्ता लिन्छन् ।सत्तामा हुँदा अह्म प्रदर्शन गर्ने, जनचाहना कुल्चिने,अन्ध राष्ट्रवादलाई बढावा दिने, तुष्टिकरणको राजनीति गर्ने, अतिवाद लाद्न खोज्नेहरु बढारिन्छन् । तानाशाही शासन भएका देशबाहेक अन्यमा यो प्रक्रिया चलिरहन्छ । जनचाहना अनुसार चल्ने तन्त्र नै लोकतन्त्र हो । र, यो नै संसारले स्वीकारेको अहिलेसम्मको सुन्दर व्यवस्था हो । संसारकै ठूलो लोकतन्त्र मानिने भारतमा सात चरणमा सम्पन्न चुनावको मत परिणामले जनशक्ति कस्तो हुन्छ भन्ने पुष्टि गरिदिएको छ । नरेन्द्र मोदी नेतृत्वमा दुई कार्यकाल सत्तामा रहेको भारतीय जनता पार्टीलाई यो पटक जनताले नसिहतसहित घटुवा गरिदिएका छन् । भाजपा एक्लैलाई बहुमत नदिएर सहयोगी दलको भर पर्नुपर्ने स्थितिमा पु¥याइदिएका छन् ।
मतदान अघि र पछिसम्म पनि भाजपा एक्लैले बहुमत ल्याउने राजनीतिक पण्डितहरुको अनुमान थियो । १० वर्ष लगातार सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीको एकल अनुहार देखाएर भाजपा चुनावमा होमिएको थियो । भारतको अर्थन्त्र बलियो बनाउन, विश्वभर छरिएएका भारतीयको आत्मसम्मान बढाउन मोदीले अतुलतीय योगदान दिएका छन् । तर, लोकतन्त्रमा त्यतिले मात्र पुग्दोरहनेछ । मोदी र उनको दलमाथि बहुजातीय समाजलाई बिखण्डन गर्ने, अल्पसंख्यकलाई हेय भावले हेर्ने तथा अमूक धार्मिक वर्गको मात्र पृष्ठपोषण गर्ने गरेको आरोप लाग्दै आएको थियो । अस्वीकार गरे पनि हिन्दु राष्ट्रवादी धारणाबाट भाजपा अलग थिएन ।विपक्षीको मानमर्दन,सरकारी संयन्त्रहरुको दुरुपयोगबाट पनि ऊ मुक्त रहेन । प्रधानमन्त्री मोदीमाथि स्वतन्त्र संचार माध्यमलाई पनि आफू अनुकूल प्रयोग गरेको आरोप लाग्दै आयो । आफ्नै पार्टीका कार्यकर्ताबाट पनि उनी टाढिए । पाँच वर्षे कार्यकालमा एकपटक पनि पत्रकार सम्मेलन नगरेका मोदीले चुनावताका ती संचारमाध्यमलाई अन्तरर्वार्ता त दिए तर त्यसमा जनताले झुटा प्रचारमात्र देखे । उनीहरुले चुपचाप मोदी र भाजपालाई ‘साइज’ मा ल्याउने गरी मतदान गरिदिए । अर्कोतर्फ, भाजपाको अतिवादी सोचकै कारण विपक्षीहरु एकै ठाउँमा भेला हुने माहौल बन्यो । चुनावी परिणामले मोदीको रथ रोकिएको छ छैन, धीमा भने भएको छ । समग्रमा भारतीय जनताले भाजपा र मोदीलाई अंगिकार गरेको रणनीति बदल्न सचेत गराएका छन् । नेपालको दुई छिमेकीमध्ये चीनमा एकदलीय शासन व्यवस्था छ भने दक्षितर्फको भारतमा बहुदलीय व्यवस्था । नेपाल दक्षिणी हावाबाट बढी प्रभावित हुने देश हो । भारतीय चुनावमार्फत् जनताले जुन सन्देश दिएका छन् ,त्यसलाई कचल्टिएको नेपाली राजनीति र आफूलाई सर्वेसर्वा ठान्ने नेताले मनन गर्दा बेफाइदा हुँदैन ।
